झाडी फाँडेर सुन्तलाखेती

Published on

काठमाडौं । बिस वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थाल्नुभएको छ । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थाल्नुभएका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा हुनुहुन्छ ।

लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पलाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताउनुभयो । पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उहाँले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पुर्‍याउने लक्ष्य रहेको सुनाउनुभयो । कार्कीको नेतृत्वमा उहाँको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयवासीको जग्गामा रहेका झाडी तथा रुख हटाउने कार्यले तीव्रता पाएको छ । अहिले सायकोट क्षेत्रको पाँच सय रोपनी भन्दाबढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको छ ।

“केहीवर्ष भारतमा बिताएँ । १५ वर्ष साउदीमा रोजगारी गरेँ । अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ । खेती गर्ने कोही छैनन्” कार्कीले भन्नुभयो, “गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ । वरपर रहेका अनावश्यक रुख र झाडीले ती बिरुवा बढ्न पाएनन् । अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फँडानी भइरहेको छ । अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ ।” कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिनुभयो । सुन्तला गाउँका रूपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन । सुन्तलाबाटै वार्षिक रु तीन करोड भित्र्याउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन् ।

“सिगाना सुन्तला गाउँका रूपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन । यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो । सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फँडानी गर्ने, कुकाठ हटाउने काम भएको छ । यसले खेती विस्तारमा टेवा पुग्नेछ”, स्थानीय सूर्य कार्कीले भन्नुभयो, “गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जङ्गल बढेर घरसम्मै आउन थालेपछि रुख र झाडी फँडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो ।” बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रुख फडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ । उक्त रकमले एक हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले कटान गरेका रुख व्यवस्थापन भने स्वयम् जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताउनुभयो ।

खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रुख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ । खेतीयोग्य जग्गा बाझिँदै गएपछि उम्रिएका रुख बिरुवाले फलफूल तथा नगदेबाली गर्न कठिनाइ भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन् । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...