प्राविधिक अध्ययन नभएसम्म कर्णाली पुलमा सवारी आवागमन बन्द

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशको ‘लाइफ लाइन’ मानिने चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएपछि आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट पुलमा क्षति पुगेपछि आवागमन बन्द गरिएको हो ।

पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगो दन्केर पुलमा पनि सल्किएको प्रतयक्षदर्शीले बताएका हुन् । पूर्वपश्चिम राजमार्ग रहेको सो पुलको लट्ठामा क्षति पुगेपछि सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीका कारण पुलमा जोखिम बढ्ने सम्भावना भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो । लम्की, टीकापुर, सत्ती पुल हुँदै बर्दियाको राजापुर हुलाकी राजमार्ग प्रयोग गरी सवारीसाधनको आवतजावत भइरहेको जानकारी उहाँले दिनुभयो । पुलमा आवागमन बन्द गरिएपछि वैकल्पिक बाटो भएर सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुरका लागि आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको थियो । लाइटर एक आपसमा ठोक्किएर पड्किएपछि ट्रकमा आगो लागेको हुन सक्ने बताइएको छ । आगलागीबाट पुलमा गम्भीर क्षति भएको लम्कीचुहा नगरपालिका–४, वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पुलको दक्षिणतर्फको भागसहित पुललाई अड्याउन मद्दत गर्ने फलामे लट्ठा (तार) सल्यापमा क्षति पुगेको छ । पुलमा धेरै क्षति भएका कारण प्राविधिक टोलीले सबैकुराको अध्ययन नगरेसम्म आवतजावत गर्न नहुने अधिकारीले उल्लेख गर्नुभयो । सो पुलमा भएको क्षति तथा सवारी आवागमन सञ्चालन गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा अध्ययन गर्न काठमाडौँबाट पुलसम्बन्धी प्राविधिक टोली कैलाली पुग्ने जनाइएको छ । सन् १९९३ मा बनेको यो पुल एक खम्बामा लट्ठाहरूको मद्दतले अडिएको छ । कर्णाली पुल बनेपछि मात्रै सुदूरपश्चिम प्रदेश कर्णाली नदीभन्दा पूर्व रहेको नेपालको भूभागसँग जोडिएको थियो । यस्ता आकर्षक र विशाल पुल बनेपछि हरेक वर्ष मर्मत गर्नुपर्ने हुन्छ ।

तर यो पुल भने उद्घाटन भएको करिब ३१ वर्षसम्म पनि मर्मत नभएको वडाध्यक्ष अधिकारीले बताउनुभयो । “यो पुलको अहिलेसम्म एउटा नटबोल्ट बाँध्ने कार्य पनि भएको छैन,” उहाँले गुनासो गर्नुभयो । पछिल्लो समय हुलाकी सडक अन्तर्गत कर्णाली नदीमा सत्ती पुल पनि बनेकाले कर्णाली पुल बन्द भएको बेला वैकल्पिक बाटो प्रयोग गर्न सम्भव भएको भनाइ स्थानीयवासीको छ । आगो लागेर ट्रक र त्यसमा रहेको लाखौँ रुपियाँ बराबरको लाइटर जलेर नष्ट भएको जनाइएको छ । यसैबिच कर्णाली पुलमा आगलागीबाट भएको क्षतिको मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थलगत निरीक्षण गर्नुभएको छ । पुलमा भएको क्षतिको विवरण सङ्कलनका लागि काठमाडौँ (केन्द्र) बाट प्राविधिकहरूको टोली बोलाइएको जानकारी उहाँहरूले दिनुभएको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...