दुई हप्तामा ताप्लेजुङका १६ ठाउँमा डढेलो

Published on

काठमाडौं । ताप्लेजुङमा पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत फागुन १४ गते सोमबारदेखि बिहीबार सम्ममा नौवटा सामुदायिक वन र सात वटा राष्ट्रिय वनमा डढेलो लागेको छ। वन जङ्गल नै सखाप हुनेगरी डढेलोका घटना हुन थालेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिनुभयो। सहायक वन अधिकृत पासवानका अनुसार यसवर्ष पहिलोपटक फागुन १४ गते मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित मुरुमी चिहानडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो। त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ। फागुन २४ गते एकैदिन चारवटा वनमा डढेलो लागेको पासवानले जानकारी दिनुभयो। उक्त दिन मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको थियो। यस्तै मिक्वाखोला गाउँपालिका–३ लिबाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा डढेलो लागेको थियो। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार फागुन २५ गते मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको कार्तिपाखा सामुदायिक वन र वडा ४ साँवाको मानाभरा सामुदायिक वनमा डढेलो लागेको छ।

त्यसैगरी फागुन २६ गते मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा ५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ। फागुन २७ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको त्रिबेणी सामुदायिक वनमा डढेलो लागेको छ। त्यस्तै फागुन २९ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङकै खैरेनी सामुदायिक वनमा डढेलो लागेको थियो भने सोही दिन फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको छ। वन कार्यालयको तथ्याङ्कअनुसार नै फागुन ३० गते सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा डढेलो लागेको छ। चैत १ गते बिहीबार सिदिङ्वा गाउँपालिकाकै वडा ६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ। बिहीबारसम्म विभिन्न ठाउँमा गरी करिव ४९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साहले जानकारी दिनुभयो।

लामो सुख्खा मौसमका कारण अहिले आगलागी र डढेलोका घटना निरन्तर हुँदै आएको र तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख साहले जानकारी दिनुभयो। उहाँकाअनुसार वनमा लागेको डढेलोका कारण बहुमूल्य जडीबुटी लगायतका वनस्पति, रुख तथा बिरुवा डढेर नास भइरहेको छ भने सुस्म प्रकृतिका जीवहरुको अस्तित्व समाप्त हुने अवस्था बनेको छ। यस्तै अन्य जीव जनावरहरुलाई पनि डढेलोले प्रत्यक्ष असर पुगेको उहाँको भनाइ छ। यता डिभिजन वन कार्यालयको यो तथ्याङ्कभन्दा बढी डढेलोका घटना भएको हुनसक्ने सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो। डढेलोको घटना भएका क्षेत्रबाट समयमा नै जानकारी नहुँदा वन कार्यालयको तथ्याङ्कमा छुटेको हुनसक्ने ओझाको भनाइ छ। धेरै तिरबाट डढेलोका घटना भइरहेको जानकारी महासङ्घलाई आइरहेको र महासङ्घले पनि तथ्याङ्क सङ्कलनको काम गरिरहेको उहाँले बताउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...