सिख पृथकतावादी हत्यामा पक्राउपछि क्यानडाका प्रधानमन्त्रीद्वारा ‘कानुनको शासन’ को प्रशंसा

Published on

काठमाडौं प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानडाका सिख समुदायमा डर रहेको स्वीकार गर्नुभएको छ । यद्यपि गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्याको सिलसिलामा तीन व्यक्ति पक्राउ परेपछि उहाँले ‘कानुनको शासन’ लाई जोड दिनुभयो ।

प्रहरीले हरदीप सिंह निज्जरको हत्याको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता रहेको बताउनुभएपछि क्यानाडा र भारतबिच कूटनीतिक मनमुटाव सिर्जना भएको थियो । शनिबार टोरन्टोमा सिख सम्पदा र संस्कृति मनाउन आयोजित एक समारोहमा ट्रुडोले क्यानडाका सिख समुदायमा धेरै मानिसले ‘असहज महसुस गरिरहेको र अहिले पनि भयभीत रहेको’ स्वीकार गर्नुभयो । यद्यपि उहाँले न्याय प्रणालीमा विश्वास गर्न आग्रह गर्नुभयो । “हामी शान्त बनौँ र हाम्रो लोकतान्त्रिक सिद्धान्त र न्याय प्रणालीप्रति हाम्रो प्रतिबद्धतामा अडिग रहौँ”, उहाँले भन्नुभयो, “गिरफ्तारी महत्त्वपूर्ण थियो किनकी क्यानाडा बलियो र स्वतन्त्र न्याय प्रणालीसहितको कानुनको शासन भएको मुलुक हो, साथै नागरिकहरूको सुरक्षा गर्ने आधारभूत प्रतिबद्धता पनि हो ।”

बाइस वर्षका दुई र अर्का २८ वर्षका गरी तीन भारतीय नागरिकलाई ‘फर्स्ट डिग्री’ हत्या र षड्यन्त्रको आरोपमा शुक्रबार पक्राउ गरिएको थियो । उनीहरूमाथि निज्जरको हत्या भएको दिन गोली चलाउने, चालक र निगरानीकर्ता भएको आरोप छ । संदिग्धहरूको सम्बन्ध ‘यदि भारत सरकारसँग छ’ वा अरुको पनि संलग्नता हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सन् १९९७ मा क्यानडा बसाइँ सरेका र सन् २०१५ मा नागरिक बनेका निज्जरले भारतबाट निकालिएको खालिस्तान भनेर चिनिने छुट्टै सिख राज्यको वकालत गरेका थिए । उनलाई कथित आतङ्कवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूले खोजेका थिए ।

सन् २०२३ जुन १८ मा उपनगरीय भ्यानकुभरमा उनले नेतृत्व गरेको सिख मन्दिरको पार्किङमा मुखुन्डो लगाएका आक्रमणकारीले उनको गोली हानी हत्या गरेका थिए । प्रधानमन्त्री ट्रुडोले धेरै महिनापछि क्यानडासँग हत्यामा भारतीय गुप्तचर संलग्न रहेको ‘विश्वसनीय आरोप’ को घोषणा गर्नुभएको थियो । साथै उहाँले एक भारतीय अधिकारीलाई निष्कासित गर्नुभएको थियो । भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्यो र कडा प्रतिक्रिया दियो । साथै क्यानडाली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पार्‍यो । नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथितरूपमा अमेरिकी भूमिमा यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...