हुम्डे विमानस्थल प्रयोगविहीन

Published on

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्र गरेको मनाङको हुम्डे विमानस्थल प्रयोगविहीन छ । कालोपत्रे भए पनि सञ्चालनमा आउन नसकेका विमानस्थल नौवटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसमध्ये मनाङको हुम्डे विमानस्थल पनि एक हो ।

हुम्डेलगायत बागलुङ विमानस्थल, रुकुमको चौरजहारी, खोटाङको लामीडाँडा, डोल्पाको मसिनेचौर, कालीकोटको सुनथराली छन् । सडक यातायातको पहुँच, छोटो धावनमार्ग, साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन नसकेको हो । करोडौं रुपियाँ खर्चेर निर्माण गरिएको भवन बेकामे भएको छ भने विमानस्थल परिसरमा रहेका ट्रली, डोजरलगायतका साधन काम नलाग्ने बनेका छन् । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रुपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौं रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङीहरु अझै पनि मुक्त हुन सकेका छैनन् । कालोपत्र गरेको केही दिनमै परीक्षण उडान भने भएको थियो तर नियमित उडान हुन सकेन । लामो समयदेखि बन्द भएको विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा गौचरणमा परिणत भएको छ ।

करोडौं रुपियाँ खर्चेर नौ वर्षअघि नै स्तरोन्नति र कालोपत्र गरी बाह्रै महिना जहाज अवतरण गर्न सकिने हुम्डे विमानस्थलमा पछिल्लो समय व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरण भएको छैन । सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले हुम्डे विमानस्थल नेपालकै सुन्दरमध्ये एकमा पर्ने बताउनुभयो  । उहाँले भन्नुभयो, ‘‘यति राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको एक दशक भयो । परीक्षण उडानपछि पूर्ण रूपमा बन्द रहेको हुम्डे विमानस्थलको ६ सय मिटर रहेको धावनमार्ग कालोपत्र गरिएसँगै बढाएर नौ सय मिटर बनाइएको छ । कालोपत्र हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल २०७० सालबाट पूर्णरूपमा बन्द रहेको छ । तीन हजार तीन सय ३० मिटर उचाईमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान सुरु गरिएको थियो । विमानस्थल कालोपत्र गरिए पनि अवतरण गर्नमा भौगोलिक विकटताले गर्दा समस्या रहेको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङले बताउनुभयो । उहाँले सिंगल इन्जिन भएको जहाजको सङ्ख्या अत्यन्त न्यून रहेको र पहिला पञ्चायतकालमै विमानस्थल बनाउँदैमा स्वर्गद्वारी हिमाललाई बेवास्ता गरी निर्माण गरिएकाले सञ्चालनमा कठिनाइ रहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपियाँ खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन नभए क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले विमानस्थल पुनः सञ्चालनमा ल्याउन गरेको प्रयासले सार्थकता पाउन सकेन । विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ । हुम्डे विमानस्थल उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले हुन सक्ने लेक लाग्ने बिरामी तथा पर्यटकलाई भने समस्या हुने गरेको छ । अचानक बिरामी वा दुर्घटना भएमा यातायातको समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्रै वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो । तर लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल सञ्चालन हुन नसक्दा समस्या रहेको छ । हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने तथा निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीय बताउँछन् । गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकोप्टर मगाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...