सरदरभन्दा बढी वर्षा हुने

Published on

काठमाडौं । नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छ ।

विभागले सोमबार सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । विभागको प्रक्षेपण ख्याल गर्दै आगामी तयारीमा जुट्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गर्नुभयो । विभागका महानिर्देशक डा। जगदीश्वर कर्माचार्यले यस वर्षको वर्षाले जनधनको क्षति गर्ने विपत् आउन सक्ने सम्भावनालाई ध्यानमा राखी सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । विभागका उपमहानिर्देशक डा। अर्चना श्रेष्ठले सन् १८८० को दशकमा भारत हुँदै नेपालमा मौसम पूर्वानुमान थालिएको इतिहास बताउँदै त्यसयताका मौसमी उतारचढावको चर्चा गर्नुभयो । त्यो उतारचढाव अनुसार पछिल्लो समय मनसुनको अवधि पछाडि सर्दै र लम्बिँदै गएको विभागले प्रस्ट पारेको छ । जस अनुसार हरेक वर्ष जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधि मनसुनको रहने गरेकोमा सो लम्बिँदै अगस्ट २ तारिखसम्म पुगेको छ ।

विभागका जलवायु विश्लेषक सुदर्शन हुमागाईंले यस वर्षको मनसुनको पहिलो र दोस्रो महिना अर्थात् जुन र जुलाईमा सरदरभन्दा कम वर्षा हुने जानकारी दिनुभयो । यी दुई महिना कम वर्षा हुँदा थप तातोपन र खडेरी बढ्न सक्ने उहाँले पूर्वानुमान गर्नुभयो । उहाँले भन्नुभयो, “तर अगस्ट र सेप्टेम्बरमा मनसुन अवधिको वर्षा बढी हुने सम्भावना रहेको छ ।” यो पूर्वानुमान अनुसार देशका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले प्रक्षेपण गरेको छ । प्रदेशगत रूपमा भने पश्चिमको गण्डकी, मध्यको बागमती तथा पूर्वी भेगको तराईमा अत्यधिक वर्षा हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम भूभाग, बागमतीको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

नेपालमा एक वर्षको अवधिमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको समयमा हुने गरेको छ । वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ । तापक्रम पनि उच्च पहिलो दुई महिना कम वर्षा हुनेसँगै मनसुन र त्यसपछि पनि तापक्रमको अवस्था उच्चतातिर जाने भएको छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार जुन र जुलाईमा वर्षा कम भए पनि पछिको समयमा हुने बढी वर्षाले मनसुनको अवधिमा हुने कुल वर्षालाई पूर्णता दिने प्रस्ट्याउनुभयो । उहाँका अनुसार यो वर्षको मनसुनको अवधि तातो रहने प्रक्षेपण गर्नुभयो । उहाँले भन्नुभयो, “मनसुनसँगै यो वर्षको पूरै अवधिको तापक्रम सरदरभन्दा बढी हुने छ, त्यो सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ ।

मनसुनको ऋतुगत प्रक्षेपणपछि भविष्यमा आइपर्न सक्ने सम्भावित विपत्बाट जनधनको क्षति कम गर्न आपसी सहकार्य र समन्वयसाथ काम गर्नुपर्नेमा सरोकारवाला निकायका उच्चाधिकारीले जोड दिनुभयो । कृषि मौसमविद् रामेश्वर रिमालले यो वर्षको कृषि उत्पादन खडेरी, अधिक वर्षा र तापलहरले प्रभावित हुने सम्भावना औँल्याउनुभयो । त्यसबाट किसानको बाली जोगाउन महिनागत र स्थानगत मनसुन प्रक्षेपणलाई निरन्तरता दिन सुझाव दिनुभयो । ऊर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मनसुनी वर्षाका कारण मानव जीवनसँगै भौतिक पूर्वाधारमा बढी क्षति पुर्‍याउने भएकाले सोको सुरक्षाका लागि चनाखो रहन आग्रह गर्नुभयो । जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले जलजन्य उद्योग पनि मनसुनी वर्षाले प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ पनि पूर्वतयारी आवश्यकता रहेको औँल्याउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले पानी आवश्यक कुरा भए पनि एकैचोटि बढी आउँदा हुन सक्ने हानिप्रति सचेत रहेर समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले मनसुनजन्य विपत्बाट बर्सेनि भइरहेको जनधनको क्षति कम गर्न विभाग र प्राधिकरणले नजिक रहेर सहकार्य गर्न जरुरी रहेको औँल्याउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...