वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ

Published on

काठमाडौं । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताउनुभयो ।

सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिनुभयो । बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ सके पनि वर्षा नहुँदा खेतमा धाँजा फाट्न सुरु भएको हिरमिनियाका किसान अशोक थापाले बताउनुभयो । “बिजुलीको भोल्टेज कम भएर मोटरले पानी तान्दैन, आकाशबाट पानी आउँदैन, रोपेको बीउ जोगाउन पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “प्रकृतिले पनि ठगिरहेको छ, धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले सबैतिर रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ । बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष नभएका कारण बाँकेमा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...