नगरकोटको सीमा समस्या सुल्झाउन चार स्थानीय तहको तयारी

Published on

काठमाडौं । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा वर्षौदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् ।

उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका छन् । यसअघि चार नगरका जनप्रतिनिधि एवम् सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’ समिति गठन गरिएको थियो । गठित समितिले अनुगमन निरीक्षण गरी सीमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाएपछि छिट्टै समस्या सुल्झाउने तयारीमा लागेको जनाएका छन् । समितिले बुझाएको प्रतिवेदनको आधारमा सीमा समस्या सुल्झाउन चार नगरका जनप्रतिनिधिले तीन पटक संयुक्त छलफल गरिसकेको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाले बताउनुभयो । उहाँका अनुसार तीन महिनाभित्र सीमा समस्या समाधान गर्न चारै नगरका जनप्रतिनिधिले तयारी गरेका छन् । नगरकोट काभे्रपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुुर नगरपालिकाको सङ्गमस्थल हो ।

नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडा अध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभे्रपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवम् प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो । वाइबाका अनुसार समितिले सीमा समस्या समाधानका उपाय र विकल्पलाई आधार मानी तयारी थालिएको छ । समितिले समाधानको विकल्पमा वि।सं।२०१७\१८ मा गरिएको नापीलाई आधार मान्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको वाइबाले बताउनुभयो । “हामी समितिको प्रतिवेदनकै आधारमा समस्या समाधन गर्ने तयारीमा लागेको हौँ, दुईदेखि तीन महिनासम्ममा समाधानतर्फ लाग्नेछौँ”, उहाँले भन्नुभयो । समस्या समाधानका लागि मण्डनदेउपुर नगरका प्रमुख वाइबा, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्य, शङ्खरापुरका नगर प्रमुख रमेश नापित र चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीले छलफललाई तीव्रता दिएका छन् ।

यसअघि नगरकोटमा ‘पानी ढलो’का रुपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको थियो । नगरकोटका ठूला होटलले सार्वजनिक जग्गा हड्पी भवन बनाएर होटल सञ्चालन गरेको विषयमासमेत विवाद हुँदै आएकाले सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले दुई वर्षअघि चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाइबासहितको टोलीबीच सहमति भ्एको थियो । वि.सं.२०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै गुरुयोजना निर्माण गर्न दुवै नगरले १०–१० लाख बजेटसमेत विनियोजन गरेका थिए । नगरकोटको जमिन होटल रिसोर्ट तथा अन्य व्यक्तिले मिचेको विषयमा दुई नगरले नापी कार्यालयको सहयोगमा आन्तरिक अनुमगन निरीक्षण गरिरहेको वाइबाले बताउनुभयो ।

उहाँका अनुसार पहिला दुई जिल्लाको सीमा समस्या समाधान गरेपछि आ(आफ्नो जिल्लाको नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा जमिन हडपेको विषय खोजी गर्ने सहमति भएको छ । यसअघि नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले सार्जवनिक जग्गा दुरुपयोगबारे संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबीचको विवाद समाधान गरिएको थियो । भक्तपुरस्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको प्रतिवेदन अनुसार नगरकोटमा सञ्चालित होटलमध्ये वन तथा सार्वजनिक जग्गा क्लब हिमालय होटलले १३ रोपनी अतिक्रमण गरिएको जनाइएको छ । त्यसैगरी द फोर्टले पाँच रोपनी, रुपेस माउन्टेनले एक रोपनी, होटल भ्यू प्वाइन्टले दुई रोपनी र मधुवन होटलले एक रोपनी जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । लस्ट होराइजन, घर छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतले जग्गा अतिक्रमण गरेको जनाइएको छ ।

नगरकोट काठमाडौँ उपत्यका नजिक ३२ किलोमिटर उत्तर(पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित प्रसिद्ध रमणीयस्थल हो । समुद्री सतहदेखि दुई हजार ७५ मिटर उचाइमा नगरकोटबाट धौलागिरि हिमशृङ्खलादेखि कञ्चनजङ्घा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमालका साथै सर्वोच्च शिखर सगरमाथाको दृश्य हेर्न सकिन्छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...