बजेट छ तर छैनन् कर्मचारी

Published on

काठमाडौं । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी अभाव झेलिरहेको छ । दक्ष प्राविधिक जनशक्ति नहुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । मन्त्रालयमा आठौँ र नवौँ तहका ८० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोही अनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको मन्त्रालयका सचिव टीकाराम थापाले बताउनुभयो । दक्ष जनशक्ति नहुँदा कार्यसम्पादनमा असर परेको उहाँले जानकारी दिनुभयो । अर्गानिक प्रदेशको अवधारणा बोकेको मन्त्रालले ३३ कार्यालय र दुई वटा निर्देशनालयमार्फत बजेट कार्यान्वयन गर्ने गरेको छ तर ती कार्यालयमा बजेट कार्यान्वयन गर्न सक्ने जनशक्ति भने छैनन् । मन्त्रालय र मातहतका कार्यालयमा गरी जम्मा ३६२ जना कर्मचारीको स्थायी दरबन्दी छ । त्यसमध्ये दरबन्दीमा २५३ कार्यरत छन् । १०९ जना कर्मचारीको पद रिक्त रहेको मन्त्रालयका सचिव थापाले बताउनुभयो । मन्त्रालयले नयाँ दरबन्दी तथा सङ्गठन संरचना तयार पारी सम्बन्धित निकायमा पठाएको भए पनि स्वीकृत नभएको उहाँले जानकारी दिनुभयो ।

कार्यप्रगति विवरण सार्वजनिक

मन्त्रालयले आर्थिक वर्ष २०८०\८१ को कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर खाद्य तथा पोषण सुरक्षा, कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरणमार्फत कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धनलगायतमा गरिएको मुख्य कार्य विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले हालसम्म कृषि क्षेत्रको विकासका लागि पाँच वटा ऐन तथा दुई वटा नियमावली र वार्षिक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी सञ्चालन गरिरहेको छ । मन्त्रालयले गएको एक वर्षमा लक्ष्य अनुरूपको काम सम्पन्न गरेको जनाइएको छ । क्षेत्र विस्तार गरेर अनुदानका कार्यक्रम सञ्चालन गरेको मन्त्रालयका सचिव थापाले बताउनुभयो । गत वर्ष ६२७ वटा साना सिँचाइ निर्माण गर्ने लक्ष्य लिइएकोमा ५७५ वटा साना सिँचाइ योजना सम्पन्न गरिएको छ । जसबाट ९५० हेक्टरमा सिँचाइ सुविधा सुधार र १०५ हेक्टर नयाँ जग्गामा सिँचाइ पुगेको छ भने सात हजार ४७५ जना कृषक लाभान्वित भएका छन् ।

गएको वर्ष तीन हजार ७७६ जना कृषकले दुधमा अनुदान लिएका छन् । साबिक कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ हजार ४२९ लिटर दुधमा एक करोड २३ हजार अनुदान दिइएको छ । यसै गरी भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिम, सल्यान र जाजरकोटका एक हजार ३२० कृषकलाई राहत रकम वितरण गरिएको छ । गाई, गोरु, भैँसी र कुखुरामा भएको क्षतिको २३ लाख ८७ हजार वितरण गरिएको छ । त्यसै गरी हावाहुरीबाट मकै, धान र तरकारीमा भएको क्षतिबापत तीन हजार ८३७ जना कृषकलाई ९१ लाख २९ हजार राहत दिइएको छ ।

फलफूल खेतीको क्षेत्र विस्तार

गत वर्ष प्रदेशका १० वटै जिल्लामा एक लाख ८२ हजार ४४० फलफूलका बिरुवा वितरण गरिएको छ । क्षेत्र विस्तार गरेर नयाँ बिरुवा वितरण गरिएको मन्त्रालयले जनाएको छ । उक्त वर्ष १७७ हेक्टर स्याउ, ओखर १४९ हेक्टर, सुन्तला जात फलफूल १९०, कागती ५८ हेक्टर, आँप १३३ हेक्टर, लिची १४९ हेक्टर र अन्य फलफूल २३ हेक्टर गरी ८७१ हेक्टर फलफूल खेतीको क्षेत्र विस्तार गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...