कतै खेर जाँदै, कतै बोटबाटै बिक्री हुँदै स्याउ

Published on

काठमाडौं । रुकुमपूर्वका धेरै स्थानमा स्याउ फल्ने गरेको छ । स्याउ फल्ने ठाउँमा कतै सडक पुगेको छ भने कतै अझै सडक पुग्न सकेको छैन । त्यसोत सडक पुगेका स्थानमा बोटबाटै स्याउ बिक्री हुन्छ । तर सडक नपुगेको ठाउँको स्याउ त्यतिकै खेर गइरहेको छ । स्याउ फलेपछि राम्रो आम्दानी गर्ने कृषकको सोच हुन्छ । स्याउका बिरुवा खरिद गरी ढुवानी गरेर ल्याएर रोपी सकेपछि समय–समयमा गोडमेल र रेखदेख गर्ने गर्छन्, कृषक । यति धेरै परिश्रम र लगानी गरेपछि करिब तीनरचार वर्ष पछि स्याउ फल्न थाल्यो, कृषक खुसी हुन्छन् । तर सडकको पहुँचमा भएका कृषकले लगानी अनुसारको आम्दानी गर्दै आएका छन् भने सडक नपुगेका ठाउँका कृषक स्याउ फले पनि दुःखी र निरास हुनु पर्ने अवस्था छ । सडक सञ्जाल नहुँदा बिक्री लागि पठाउन समस्या छ । अनि अरु केही उपाय नभएपछि हरेक वर्ष लटरम्म स्याउ फल्छ र बारीमै कुहिएर खेर जान्छ ।

जिल्लाको भूमे गाउँपालिका–१, सिस्ने गाउँपालिका–१ र पुथाउत्तरगङ्गा गाउँपालिका–१, २, ५, ६, ९, १० यी वडाका विभिन्न ठाउँमा स्याउ लटरम्म फलेको छ । जसमा सिस्ने गाउँपालिका–१, पुथाउत्तरगङ्गा गाउँपालिका–२ र ९ मा सडक अझै सडक पुगेको छैन भने पुथाउत्तरगङ्गा–१, ५, ६ र १० मा सडकको पहुँच भएता पनि हाल वर्षायाममा भरपर्दो छैन । कुन बेला कहाँ पहिरो जान्छ र सडक बन्द हुन्छ अनुमाग गर्न गाह्रो छ । यद्यपी पहिरोका कारण बन्द भएको सडक कहिले खुल्ने हो पत्तो हुँदैन । त्यस कारण यी वडामा पनि स्याउ ढुवानीको लागि समस्या नै रहेको छ । तर, भूमे गाउँपालिका–१ मध्यपहाडी लोकमार्गकै छेउमै पर्ने भएकाले बोटबाटै स्याउ बिक्री भइरहेको कृषक तीर्थबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो, “सडकको पहुँच भएपछि उत्पादन मात्र गर्नु पर्ने रहेछ । दैनिक बोटबाटै स्याउ बिक्री भइरहेको छ । न आफूले टिप्नु पर्‍यो, न बोकेर बजारसम्म पुर्‍याउनु पर्‍यो । सडक भए किसानलाई ठुलो सहयोग हुने रहेछ ।”

पुनको बगैँचामा चार सय स्याउका बोट छ । जसमध्ये साढे तीन सय बोटमा लटरम्म स्याउ फलेका छन् । पुनले प्रति किलो एक सय रुपियाँका दरमा बोटबाटै स्याउ बिक्री गरिराख्नु भएको छ । आजभोलि दैनिक तीनदेखि आठ हजार रुपियाँसम्म स्याउ बिक्रीबाट आम्दानी भइरहेको पुनले बताउनुभयो । मध्यपहाडी लोकमार्गको पहुँच पुगेदेखि पुनको स्याउ हरेक वर्ष बोटबाटै बिक्री हुने गरेको छ । स्याउ बिक्रीबाट एक सिजनमा एक लाख रुपियाँसम्म आम्दानी भइरहेको पुनको भनाइ छ । सडक नपुगेको ठाउँका स्याउ भने हरेक वर्ष खेर गइरहेको छ । सिस्ने गाउँपालिका–१ का स्याउ बगैँचामा लटरम्म स्याउ फलेको छ । तर यहाँ सडक पुगेको छैन । जसका कारण बोटमै स्याउ खेर गइरहेको छ । सडक भएको ठाउँसम्म आउन हिँडेर एक दिन लाग्ने गर्दछ । सिस्ने–१ का वडाध्यक्ष रजबहादुर बुढाले भन्नुभयो, “किसानका बारीबारीमा लटरम्म स्याउ फलेका छन्, टिप्ने सिजन सुरु भइसक्यो, तर बजारसम्म पठाउने सडक छैन, किसानको लगानी त्यतिकै खेर गइरहेको छ ।” वडाध्यक्ष बुढाले थप्दै भन्नुभयो, “हाम्रो वडामा केहिले सडक पुग्ला र यहाँका फलफूलबाट आम्दानी गर्ने होला । दुर्गमका जनतालाई दुःख नै दुःख छ ।”

सिस्ने–१ मा पनि धेरै मात्रामा स्याउ उत्पादन भइरहेको वडाध्यक्ष बुढाले बताउनुभयो । स्याउ बिक्री नभएकै कारणले वडामा स्याउको मूल्य नै निर्धारण नगरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । यस्तै, पुथाउत्तरगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष जसबहादुर श्रीर्पालीले पनि सडकको पहुँच नभएकै कारण रहेक वर्ष यस गाउँपालिकाको स्याउ खेर जाने गरेको बताउनुभयो । पुथाउत्तरङ्गा–१, २, ५, ६, ९ र १० यी वडामा स्याउ उत्पादन भइरहेको छ । यी वडामध्ये धेरै स्याउ उत्पादन हुने २ नम्बर वडा रहेको छ । २ नम्बर वडामा सडक नपुगेकै कारण जति स्याउ फले पनि किसानको आम्दानी शून्य नै रहेको वडाध्यक्ष श्रीर्पालीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...