खयरभारानीको दर्शन : मनोकांक्षा पूरा हुने विश्वास

Published on

काठमाडौं । सोमबार जनै पूर्णिमाको दिन । खयरलेकस्थित खयरभारानीको दर्शनका लागि सयौँ भक्तजनहरूले शनिबार बिहानदेखि नै खयरको यात्रा तय गरेका छन् । शनिबार बेलुका खोप्रालेक पुगेका भक्तजनहरू आज बिहानै खयरलेकको यात्रा सुरु गरेका हुन् । प्रकृतिको अनुपम उपहार जस्तो लाग्ने निकै मनोरम स्थल खोप्रा र खयर लेक हुन् । खोप्रा र खयरलेक प्राकृतिक रूपमा निकै सुन्दर स्थल हो । अन्नपूर्ण हिमालको फेदीमा रहेको सुन्दर खयरबराह तालको छवैमा अवस्थित खयरभारानी थानको दर्शन गरेमा मनोकांक्षा पूरा हुने अटल विश्वास छ । यहाँ भोली जनै पूर्णिमाका दिन खयरभारानीको दर्शन र पूजा हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको भूगोलमा पर्ने खयरलेक समुन्द्री सतहदेखि चार हजार सातसय मिटरको उचाइमा छ । खयरभारानीको धार्मिकसँगै प्राकृतिक सौन्दर्यताका कारण सुन्दर पर्यटकीय स्थल हो । यसपालिको जनै पूर्णिमाका दिन खयरभारानीको दर्शन र पूजाआजा गर्न भक्तजनहरू आइतबार तीन हजार ६ सय ६० मिटरको उचाइमा रहेको सुन्दर पर्यटकीय स्थल खोप्रा पुगिसकेका छन् । कतिपय भक्तजनहरू खोप्राबाट एक दिनको यात्रा गरेर खयरखोला पुगिसकेका छन् ।

अन्नपूर्ण ६ घार स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्नुहुने अस्मिता खड्काले शनिबार पाउँद्धार गाउँदेखि करिब ८ घण्टाको उकालो यात्रा पछि खोप्रालेक पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खोप्राको सुन्दरताले थकाई मेटाइदियो । आँखै अगाडी देखिने हिमशृङ्खला, हरियाली पहाड र रमाइलो भूगोलमा रमाउन पाउँदा साँच्चिकै स्वर्गको अनुभूति भयो ।’’ पहिलोपटक खयरभारानीको दर्शनका लागि हिँड्नु भएकी थापा आइतबार खयरखोलामा गएर बासबस्ने र जनैपूर्णिमाको दिन बिहानै खयरलेक पुग्ने योजना सुनाउनुभयो । खोप्रालेक प्रकृति प्रेमीहरूका लागि आकर्षक स्थल भएको उहाँको अनुभव छ । खयरको भिरालो पाखाको हरियाली चरन क्षेत्रको पृष्ठभूमिमा चारैतिर हिमाल देख्न सकिन्छ । खोप्रालेकबाट अन्नपूर्ण, धौलागिरि माछापुच्छ्रे«े, मनास्लु रेञ्जका हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरबराही ताल र वरपरको रमाइलो दृश्यले भक्तजन र पर्यटकलाई लोभ्याउँछ । छिनछिनमा फेरीरहनै मौसम र बादलसँग सुन्दर दृश्यहरू लुकामारी गरिरहेका हुन्छन् । बिहानीको समयमा मौसम सफा हुँदा भिरालो भूगोलको घाँसे मैदान सुन्दर देखिन्छन् । हिमशृङ्खलाको दृश्य, हरियाली पाखा, विभिन्न प्रजातिका रंगीविरंगी फूल, हरियो घाँसे मैदानमा भेडाका बथान र आकाशमा देखिने सफा सेतो बादलले खयरक्षेत्र साँच्चिकै स्वर्गको जस्तो लाग्छ ।

खयरबराह ताल र परिसरमा रहेको खयरभारानीको थानमा जनैपूर्णिका दिन ठुलो सङ्ख्यामा भक्तजनहरू दर्शन र पूजाआजाका लागि पुग्ने गर्दछन् । खयरभारानीको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ । परापूर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किम्बदन्तीका आधारमा यस स्थानमा स्थानीयवासीले दर्शन र मनोकामना पूरा हुने आशाका साथ भाकल गर्ने चलन छ । त्यहाँ पुगेका भक्तजनहरूले आफ्नो चाहना तलाउ छेउमा रहेका पुजारीलाई भन्ने गर्छन् । पुजारीले भक्तजनले भनेको कुरा खयर भारानीलाई पूरा गरिदिनु भन्ने आग्रह गर्दै तलाउबाट हिलो माटो, ढुङ्गा आदी झिकेर दिने गर्छन् । खयरबराही ताल र थानमा नरिवल र साँडले पूजा गर्ने परम्परा छ । प्रसादका लागि भेटी चढाई धजा लिने नौलो चलन छ । किंवदन्ती अनुसार बराही माईका नौ बहिनी मध्य जेठी बहिनी खयरभारानी हुन भने, पोखरा फेवातालको बिचमा रहेको तालबराही माइली बहिनी हुन् भन्ने विश्वास छ ।

त्यस्तै, राम्चेको नाङ्गी वाराही, सिखको कान्छी वाराही, हिस्तानको प्यारी वाराही पनि खयरकै बहिनीहरू भएको धार्मिक विश्वास छ । खयर भारानीको दर्शनका लागि ताल परिसरमा थानको पुनर्निर्माण भएको छ । त्यहाँ पहिला भेडा गोठालाहरूले ढुङ्गामा पूजा गर्ने थान बनाएका थिए । खयरभारानी थान क्षेत्र संरक्षण कोषले चन्दामार्फत व्यवस्थित थान निर्माण गरेपछि पूजाआजा गर्न सहज भएको कोषका संरक्षक राजु पुनले बताउनुभयो । खयरलेक पुग्न सडक पुगेको पाउद्धार गाउँदेखि दुई दिन उकालो पदयात्रा गर्नुपर्छ । बर्खायाम भएकाले ग्रामीण सडक भत्किएका कारण अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि नै पैदल यात्रा गर्नुपर्दछ । पहिलो दिनको बास बस्नलाई खोप्रालेक पुगिन्छ । खोप्रामा सामुदायिक लज छन् । त्यहाँ खान र बस्नको लागि सुविधा छ । खोप्राबाट बिहानै बाट हिँडेर अर्को दिनको बास बस्न खयरखोला पुग्न सकिन्छ । खोप्रा भन्दा माथि होटल रेष्टुरेष्ट छैनन् । कोषले खयरखोलामा पाहुना बस्ने अस्थायी प्लास्टिक घर र खयर ताल परिसरमा आश्रयस्थल बनाएको छ । पछिल्ला केही वर्ष यता जनैपूर्णिमा आउने भक्तजनहरूलाई लक्षित गरेर खयरखोलामा निजीस्तरबाट पनि होटल सञ्चालन हुने गरेको छ ।

चौरासी वर्ष पुगेका र दिवङ्गत आफन्तको स्मृतिमा पाउद्धारका एक सय भन्दा बढीले खोप्रा हुँदै खयरभारानी तालको उकालो, अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण गरेका छन् । पदमार्गसँगै चौतारी बनाएका छन् । भक्तजनहरूको सेवाका लागि ठाउँठाउँमा खानेपानीका धारा पनि बनाइएको छ । जनै पूर्णिमाका दिन खयरखोलाबाट बिहानै यात्रा तय गनुपर्दछ । केही माथि पुगेपछि धोतीखोलामा पुगेर स्नान गर्ने,कपडा फेर्ने गरिन्छ । उकालो चढेपछि खयरभारानी पुग्न सकिन्छ। भारानीसँग मनले चिताएको वर मागे पूरा हुन्छ भन्ने गहिरो विश्वास छ । एक पटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ । भारानीको दर्शन गर्ने मौलिक विधि छ । खयरलेक पुगेका भक्तजनहरूलाई व्यवस्थित पूजाआजाको व्यवस्था मिलाउन पाउद्धारवासीहरु स्वयंसेवकका रूपमा खटेका हुन्छन् । पूर्णिमाका दिन खयरभारानीको दर्शन र पूजा गरेर भक्तजनहरू त्यहाँबाट फर्किने गर्दछन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...