मानवअधिकार उल्लङ्घनको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको टोली बङ्गलादेशमा

Published on

काठमाडौं । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लङ्घनको अध्ययन गर्न संयुक्त राष्ट्रसङ्घको एक टोली बिहीबार बङ्गलादेश पुगेको छ । एक महिनाभन्दा बढी चलेको विद्यार्थी आन्दोलनमा व्यापक जन सहभागिता देखिएपछि गत अगष्ट ५ मा पूर्व प्रधानमन्त्री हसिना हेलिकोप्टरबाट भागेर छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । उहाँको राजीनामाको जानकारी बङ्गलादेशका सेना प्रमुखले दिँदै देशले छिट्टै अन्तरिम सरकार गठन गर्ने बताउनुभएको थियो । आन्दोलनका क्रममा ४५० जनाभन्दा बढीको मृत्यु भएको थियो भने अधिकांशले प्रहरीको गोली लागि वा बल प्रयोगका कारण ज्यान गुमाएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा प्रदर्शनका क्रममा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत रहेको र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो । “कथित उल्लङ्घनमा गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, बलपूर्वक बेपत्ता पार्ने, यातना र दुर्व्यवहारका घटनासमेत समावेश छन्,” विज्ञप्तिमा भनिएको छ । मानव अधिकार कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब बङ्गलादेशमा उच्च स्तरीय समूहले ’मानव अधिकार उल्लङ्घनको अनुसन्धानको खाका’ तयार गर्नेछ ।”

संयुक्त राष्ट्रसङ्घको ढाकास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छलफलका आधारमा आगामी हप्ताहरूमा अनुसन्धानका लागि छुट्टै तथ्य पत्ता लगाउने टोली परिचालन गर्न सकिन्छ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि व्यापक दुर्व्यवहार गरेको आरोप लागेको थियो, जसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश थियो । हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथि तीन पटक ‘सामूहिक हत्या’ को अनुसन्धान सुरु गरेको छ । यी तीनवटै मुद्दा निजी व्यक्तिले ल्याएका हुन् र हसिनाका केही पूर्व उच्च सहयोगीहरूको पनि नाम लिइएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...