भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

Published on

काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनर्निर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ । “ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ”, स्थानीय डम्बर कार्कीले भन्नुभयो, “कल्भर्ट चाँडै बनाइदिए सजिलो हुुन्थ्यो ।”

गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो । त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवतजावत नै ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् । त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन् ।

चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउनुहुन्छ । “सवारी तथा मालवाहक गाडी सबै त्यस्तै बाटो हुइकिन्छन् । गाडीको चाप र धुलो उड्ने हुनाले दुर्घटनाको जोखिम पनि भएकाले डराएर सवारी चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “धुलो उडेर राम्रोसँग बाटो नै देखिँदैन ।” सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ ।

“सर्भे, डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट पुनर्निर्माणको काम केही ढिलाइ भएको हो । अहिले प्राविधिक टोलीले डिजाइन दिएका छन्”, उहाँले भन्नुभयो, “त्यसको अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पाउँछ । त्यसपछि ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढ्छ ।” भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ । विज्ञ प्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताउनुभयो । यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै थियो । डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिनेछ । “आपत्कालीन अवस्थामा काम गर्न हामीसँग थोरै बजेट हुन्छ । त्यसले नयाँ कल्भर्ट निर्माण गर्न सक्ने अवस्था छैन”, इन्जिनियर सिग्देलले भन्नुभयो, “त्यसैले डिजाइन तयार भएपछि बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पठाउँछौँ ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...