बाउन्स चेक दिनेलाई ब्याजसहित कैद

Published on

काठमाडौं । चेक अनादर (बाउन्स) मुद्दामा आर्थिक जरिबाना मात्रै गर्ने अथवा कैद भुक्तान गर्नुपर्ने भन्ने बहस टुङ्गिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलपछि यस किसिमको मुद्दामा कैद र जरिबाना दुवै भराउने सहमति भएको हो । समितिका सभापति सुरेन्द्र चालिसेका अनुसार चेक अनादरका मुद्दा सरकारवादी हुने र अधिकतम एक वर्षसम्म कैद सजाय हुने गरी सर्वसम्मति भएको छ । त्यस्तै यस किसिमको मुद्दामा कुल रकमको पाँच प्रतिशत जरिबाना र १० प्रतिशत ब्याज भराउने विषयमा पनि सहमति जुटेको उहाँले जानकारी दिनुभयो । विधेयकमा उल्लेख यस विषयमा सहमति भएसँगै चेक अनादरको मुद्दामा दोषी देखिए एक महिनादेखि एक वर्षसम्मको सजाय तोकिने छ । “अनादरको मुद्दामा ब्याजसहित कैद पनि भुक्तान गर्नुपर्ने गरी सर्वसम्मति भएको छ,” सभापति चालिसेले भन्नुभयो ।

सहमति अनुसार १५ लाख रुपियाँसम्मको चेक अनादरमा एक महिना, ५० लाख रुपियाँसम्म तीन महिना र त्यसभन्दा माथि एक वर्षसम्म कैद सजाय हुने छ । चेक अनादरको मुद्दा सरकारवादी हुँदा रकम असुली सहज हुने र यस्ता घटना कम हुने सभापति चालिसेले विश्वास व्यक्त गर्नुभयो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैङ्किङ कसुर तथा सजायसम्बन्धी विधेयकमा सबैभन्दा पेचिलो बनेको मुद्दामा सर्वसम्मति हुनु सकारात्मक भएको बताउनुभयो । विधेयकले गरेका संशोधन सरकारले स्वीकार गर्ने र त्यसै अनुसार कार्यान्वयनमा लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । पछिल्लो समय चेक अनादरको प्रवृत्ति बढिरहेको र यसलाई नियन्त्रण र निरुत्साहित गर्न जरुरी रहेको सन्दर्भमा विधेयकको व्यवस्था महत्वपूर्ण हुने उहाँको भनाइ थियो । कसुरको तहका आधारमा सजायको व्यवस्था हुनु व्यावहारिक हुने भएकाले सोही अनुसार प्रबन्ध गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो । विधेयकमा कसुरको तहका आधारमा नै सजाय तोकिने विषयमा सहमति भएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...