पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल

Published on

काठमाडौं । पर्यटक भित्रिने मुख्य सिजनमै हवाई यातायात प्रभावित हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ । हवाई दुर्घटना, पछिल्लो दुई महिनाको पर्यटक आगमन दर, निगमका जहाज नियमित उडानमा देखिएको लापर्बाही र पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि सरकारको महत्वाकाङ्क्षी लक्ष्य भेट्न मुस्किल देखिएको हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सरकारले चालु आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर सन् २०१९ को तुलनामा पछिल्ला दुई महिनामा देखिएको घट्दो पर्यटक आगमन दर र आगामी कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द हुने भएपछि त्यसको असर पर्यटक आगमनमा देखिने भएको छ ।”

हाल दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार विकासका क्रममा पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएपछि अन्तर्राष्ट्रियतर्फको उडान दर घट्ने र हवाई टिकटसमेत महँगो भएपछि त्यसको असर पर्यटक आगमन दरमा पुग्ने उहाँको भनाइ छ । सरकारले लिएको लक्ष्य प्राप्त गर्न सन् २०२३ को तुलनामा ५८ प्रतिशत र सन् २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्ने हुन्छ तर सन् २०१९ को जुलाई र अगस्टको तुलनामा यो वर्षको जुलाईमा नौ र अगस्टमा २४ प्रतिशत पर्यटक आगमन घटेकाले पर्यटक आगमनलाई लयमा ल्याउन सके मात्रै लक्ष्य प्राप्त हुन सक्ने देखिन्छ ।

निर्देशक लामिछानेका अनुसार सन् २०२४ को जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटक नेपाल भित्रिएका छन् । शरद ऋतुमा हिमाल आरोहण, पदयात्रा, प्याराग्लाइडिङ, हाइकिङलगायतका साहसिक गतिविधि र नेपाल भ्रमणका सिलसिलामा आउने पर्यटकलाई विमानस्थलको उडान तालिकामा हुने फेरबदलले पर्यटन क्षेत्र प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका उडानमध्ये ४० प्रतिशत उडान कटौती गरेर पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट गराउने तयारी गरेको छ । उक्त अवधिमा चार वटा उडान तालिका भएका वायु सेवाले दुई वटा उडान काठमाडौँबाहिरबाट गर्नुपर्ने छ । त्यस्तै गरी काठमाडौँबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायु सेवाका लागि अतिरिक्त उडानसमेत बन्द हुने छन् । प्राधिकरण स्रोतका अनुसार राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका १५ वटा उडान अवतरणलाई असर पर्ने देखिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...