सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकाे सिटी स्क्यान प्रयोगविहीन

Published on

काठमाडौं । लामो समयदेखि बन्द रहेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यानलगायतका महत्वपूर्ण उपकरण अझै पनि सञ्चालनमा आएका छैनन् । करिब ६ महिनाअघि अस्पतालको रेडियोलोजि विभागमा आगलागी हुँदा विद्युतका महत्वपूर्ण उपकरण र बिरामी परीक्षण गर्ने सिटी स्क्यानलगायतका उपकरणमा क्षति भएपछि ती उपकरण बन्द भएका थिए । तर ६ महिना बित्न लाग्दा पनि अझै ती महत्वपूर्ण उपकरण सञ्चालनमा नआउँदा सो अस्पतालमा सेवा लिन आउने सेवाग्राही नै घट्न थालेका छन् ।

आगलागीको करिब पाँच महिना बितेपछि विद्युतका उपकरणको मर्मत गरेर सञ्चालनमा ल्याउँदा सिटी स्क्यानको सिपियु र कन्ट्रोल बक्समा समस्या देखिएकोले सो विदेशबाट ल्याउनुपर्ने हुँदा झिकाइएकोले आउने बित्तिकै सञ्चालन गरिने अस्पतालका निर्देशक डा। प्रकाशप्रसाद शाहले बताउनुभयो । उहाँले सिटी स्क्यानको सिपियु जर्मनीबाट ल्याउनुपर्ने र करिब ३६ लाख रुपियाँ खर्च लाग्ने देखिएकोले ती उपकरण झिकाउन प्रक्रिया पूरा गर्न केही समय लागेको जनाउँदै दुई साताभित्र आउने र त्यसलगत्तै सिटी स्क्यान सञ्चालन गरिने बताउनुभयो । लामो समयदेखि सिटी स्क्यानलगायत अन्य उपकरण सञ्चालनमा नआउँदा उक्त अस्पतालमा आउने सेवाग्राहीहरूको सङ्ख्या तीन हजारको हाराहारीबाट घटेर दुई हजार आसपासमा झरेको अस्पतालले जनाएको छ । अस्पतालमा सेवा नपाउँदा र बाहिर गएर अति नै महँगोमा जाँच गराउनुपर्ने हुँदा सेवाग्राही नै घटेको सुशील कोइराला क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताउनुभयो । उहाँले अस्पतालका महत्वपूर्ण उपकरण मेसिनहरू सुचारु गर्न प्रयास भइरहे पनि हालसम्म ठोस परिणाम आउन नसक्दा सेवाग्राहीहरूले निरन्तर दुःख पाइरहेको जनाउँदै छिटोभन्दा छिटो सुचारु गर्ने प्रयासमा आफूहरु लागेको बताउनुभयो ।

अस्पतालका उपकरण सञ्चालनमा नआउँदा सेवाग्राहीहरू हाल महँगो मूल्य तिरेर निजी प्रयोगशालामा जाँच गराउन बाध्य भएका छन् । अस्पतालमा सात हजार ५०० रुपियाँमा हुने सिटी स्क्यान निजी प्रयोगशालामा पन्ध्र हजार रुपियाँसम्म पर्ने सेवाग्राहीहरू बताउँछन् । यसले गर्दा अस्पतालमा आउने सेवाग्राहीहरूको सङ्ख्या निरन्तर घट्दो क्रममा छ । सोही प्रकारले उक्त अस्पतालमा जडान गरिएको बहुप्रतीक्षित २५ करोडको लिन्याक मेसिन जडान भएर पनि आठ महिनादेखि सञ्चालनमा आएको छैन । दक्ष जनशक्ति अभावका कारण सो मेसिन सञ्चालन हुन नसकेको जनाइएको छ । साथै अस्पतालमा मेडिकल अङ्कोलोजिस्ट र रेडियोलोजिस्टको पनि अभाव छ, जसका कारण सेवाग्राहीहरूले चितवन र भारतको लखनउसम्म धाउनुपर्ने अवस्था छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...