गाजामा इजरायली आक्रमण : बालबालिकासहित ६० को मृत्यु

Published on

काठमाडौं । गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिनुभएको थियो । उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिकासहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्‍याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला थिए ।

त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ । घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् ।

इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिनुभएको हो । सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गर्नुभएको छ । तर गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुनः जोखिममा परेको विश्लेषकहरूको ठम्याइ छ ।

दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता छन् भन्दै स्थानीय अधिकारीहरूले आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् । रासस/एपी 

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...