हिउँद आराम, बर्खामा जाग्राम

Published on

काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी अहिले घरमा आरामसँग सुत्ने गरेका भए पनि बर्खाको समय रातमा उनीहरू सधैँ जाग्राम रहने गरेका छन् । ओलेनावासीको घरको मुनि बुढीगङ्गा नदी बग्ने र त्यसले बर्खाको समय जमिन कटान गर्दै आएकाले आफूलाई कति बेला नदीले बगाउँछ भन्ने डरले उनीहरू अहिले घरमा राम्रोसँग सुत्ने गरेको भए पनि बर्खा रातमा भने सधैँ जाग्राम रहने गरेका हुन् । ओलेनामा नाथ परिवारको बसोबास छ । नाथ परिवार यहाँ बसेको झन्डै पाँच पुस्ता भयो । पहिला यो नदीले केही गर्दैन थियो । २०७६ मा बुढीगङ्गा नदीमा आएको बाढीपहिरोले जमिन कटान गरेपछि अहिले यो बस्ती निकै जोखिममा रहेको रिलाका शिक्षक कमल नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नदीले ओलेनावासीलाई सारै त्रसित पार्ने गरेको छ । यहाँ दुई हेक्टरभन्दा बढी जमिन थियो । अहिले नदीले कटान गर्दै गएपछि एक हेक्टर मात्र जमिन बाँकी छ ।”

बाढीपहिरोले भएभरको जमिन सबै बगायो । घर मात्र बाँकी छन् । त्यो पनि जोखिममा छन् । अन्त जाने ठाउँ छैन । जाने पो कहाँ । नजाउँ नदीको डर । कुन दिन रातमा नदी घरमै पसेर बगाउँछ कि भने डरले बर्खाका समय जाग्राम बस्नु परेको नाथले बताउनुभयो । यहाँ स्थानीयहरू आफूले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम मार्तडी लिएर बिक्री गर्ने गर्थे । जमिन थोरै भए पनि नदीको किनारमा भएकाले यहाँ सिँचाइ सुविधा पनि राम्रो थियो । अहिले यहाँका स्थानीयलाई तरकारी उत्पादन गर्नु त के आफैँ कहाँ गएर बस्ने भन्ने चिन्ता छ । अहिले यो ठाउँ निकै उजाड र मरुभूमि देखिएको छ । ओलेनामा १३ घरपरिवार बसोबास गर्दै आएको थियो, गत वर्ष नदीमा आएको बाढीले घर नै बगाएर गएपछि बडीमालिका नगरपालिका–१ को पाटामा गएर बस्ने गरेको ओलेनाका स्थानीय कन्तरे नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यहाँ १२ घरपरिवार मात्र बसोबास गरिरहेका छन् । यी घर पनि निकै जोखिममा छन् । यहाँ स्थानीयलाई बस्ने अन्य कतै व्यवस्था नभएपछि उनीहरू यही ठाउँमा बसोबास गर्न बाध्य भएका हुन् ।”

यहाँका केही जोखिम बस्तीलाई सुरक्षित ठाउँमा बस्न हामीले यसको तथ्याङ्क सङ्कलन गरेर जिल्ला प्रशासनमा पठाएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष अर्जुन नाथले बताउनुभयो । बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकालगायतका अधिकांश बस्ती पनि बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्लाका झन्डै १३५ भन्दा बढी बस्ती स्थानान्तरण बाढीपहिरोको जोखिममा रहेका छन् । ती बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्र पठाएको र त्यो पत्रमा ओलेना बस्ती समेटिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...