नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

Published on

काठमाडौं । भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसक्नु भएको थियो । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको दाबी दोहोर्याउँदै छ वर्षदेखि मुद्दा निरन्तर रहँदा देशभित्र गम्भीर विभाजन बढेको बताउनुभयो ।

प्रधानमन्त्रीका अनुसार उहाँ निर्दोष प्रमाणित नभएसम्म मुद्दा लडे पनि ठीक हुने थियो, तर राष्ट्रिय सुरक्षात्मक र राजनीतिक परिस्थितिले मुद्दाको निरन्तरताले राष्ट्रलाई भित्रैबाट विभाजित गरिरहेको देखाएपछि माफीको अनुरोध गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ । समर्थकले मुद्दालाई राजनीतिकरूपमा प्रेरित आरोप भन्दै अस्वीकार गर्दै आए पनि नेतान्याहुमाथि अर्बपतिबाट राजनीतिक फाइदाका सन्दर्भमा सिगार, गहना र श्याम्पेनसहित करिब दुई लाख ६० हजार डलर मूल्यका सामान लिएको, साथै दुई ठूला मिडियाबाट अनुकूल कभरेजका लागि वार्ता गरेको आरोप छ । उहाँले हप्तामा तीन पटक अदालतमा उपस्थित हुनुपर्ने मागलाई ‘असम्भव माग’ भन्दै मुद्दा जित्ने आफ्नो दृढता कायम रहे पनि यसको तत्काल अन्त्यले देशमा आवश्यक राष्ट्रिय मेलमिलापलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । यही बयानसँगै राष्ट्रपति हर्जोगलाई पेश गरिएको १११ पृष्ठ लामो पत्रमा समेत दोषी स्वीकार गरिएको छैन ।

राष्ट्रपति कार्यालयले यो असाधारण र गहन प्रभाव पार्ने अनुरोध भएको बताउँदै सबै पक्षको राय लिँदै निर्णय हुने जानकारी दिएको छ । सेप्टेम्बरमै हर्जोगले मुद्दाले ‘इजरायली समाजमा भारी बोझ’ पारेको सङ्केत गर्नुभएको थियो । ७६ वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा दीर्घकालीन प्रधानमन्त्री हुनुहुन्छ । वर्तमान कार्यकालमा उहाँले अघि सारेका न्यायिक सुधारका प्रस्तावलाई आलोचकले न्यायालयलाई कमजोर पार्ने योजना भनेका थिए, जसले देशव्यापी विरोध प्रदर्शन जन्माएको थियो । हाल उहाँले सन् २०२६ को अन्त्यअघि हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । कानूनी विज्ञले नेतान्याहुको अनुरोधलाई ट्रम्पको पत्रपछि आएको सुनियोजित कदमका रूपमा व्याख्या गरेका छन् । इजरायली कानूनअनुसार माफी केवल दोषी ठहर भइसकेका व्यक्तिलाई मात्र दिन सकिन्छ । यदि माफी अस्वीकार भएमा, अभियोक्तासँग सम्झौता गर्ने विकल्प नै प्रधान हुने अनुमान विज्ञले गरेका छन् । सोही विकल्प जसलाई नेतान्याहुले अहिलेसम्म नकार्दै आउनुभएको छ । 

विपक्षी नेता यायर लापिदले नेतान्याहुले अपराध स्वीकार, पश्चात्ताप र तत्काल राजनीतिक जीवनबाट फिर्ता हुनु माफीको आधार हुनुपर्ने बताउनुभएको छ । अर्का विपक्षी नेता यायर गोलानले ‘दोषीले मात्र माफी माग्छन्’ भन्दै कडा प्रतिक्रिया जनाउनुभयो । यता सरकारका शीर्ष मन्त्रीले भने नेतान्याहुको अनुरोधलाई समर्थन गरेका छन् । रक्षामन्त्री इजरायल काट्जले माफीले दशकदेखि बढ्दै आएको सामाजिक दरार मेट्न सक्ने दाबी गर्नुभयो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्रीले ‘राजनीतिक उद्देश्यले बनाइएका मुद्दाले वर्षौदेखि यातना भोगिरहेको’ टिप्पणी गर्नुभयो । नेतान्याहु भ्रष्टाचार मुद्दा सामना गर्ने पहिलो कार्यरत इजरायली प्रधानमन्त्री हुनुहुन्छ । यसअघि पूर्व प्रधानमन्त्री एहुद ओल्मर्टले सन् २००९ मा राजीनामा दिएर धोखाधडी मुद्दामा जेल सजाय पाइसक्नु भएको थियो । यता तेल अभिवमा हर्जोगको निजी आवासअगाडि प्रदर्शनकारीले माफी नदिन आग्रह गर्दै प्रदर्शन गरेका छन् । कार्यकर्ता सिकमा ब्रेसलरले देशको लोकतान्त्रिक भविष्य जोखिममा परेको बताउँदै नेतान्याहुले न्यायिक प्रणाली कमजोर पार्ने प्रयासलाई रोक्नुपर्ने दाबी गर्नुभयो । प्रदर्शनकारी मोशे राडम्यान र अमी ड्रोरले पनि माफीले कानूनको शासन कमजोर पार्न सक्ने तथा इजरायली लोकतन्त्र नै समाप्त हुन सक्ने चेतावनी दिनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...