ढाकामा तनाव बढ्दो

Published on

काठमाडौं । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिकरूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीले घरको बाँकी संरचना भत्काउने प्रयास गर्नुका साथै त्यहाँ टाँसिएको पूर्व प्रधानमन्त्री शेख हसिनाको पोस्टरमा आगो लगाउने प्रयास गरेको देखिएको छ । उस्मान हादीको मृत्यु पश्चात् देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले आम नागरिकलाई संयम अपनाउन आग्रह गरेको छ । 

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको एक पोस्टमा सङ्गठनले हिंसा, तोडफोड तथा आगजनी नगर्न स्पष्ट अपिल गरेको छ । पोस्टमा भनिएको छ, “विनाश र आगोको माध्यमबाट केही समूहले बङ्गलादेशलाई एक अप्रभावी राज्य बनाउने लक्ष्य राखिरहेका छन् । उनीहरू हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई कमजोर पार्न खोजिरहेका छन् । तपाईले बुझ्नै पर्छ-३२ र ३६ एउटै होइन ।” उक्त सन्देशमा थप भनिएको छ, “फेब्रुअरीको निर्वाचन नजिकिँदै गर्दा देशमा अशान्ति सिर्जना भएमा वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने गम्भीरतापूर्वक विचार गर्नुहोस् । बङ्गलादेशमा स्थिरता कायम राख्न सरकारलाई पूर्ण सहयोग गर्नुहोस् र कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनुहोस् ।” यसैबिच, अङ्ग्रेजी भाषाको प्रतिष्ठित दैनिक द डेली स्टारको कार्यालयमा भएको तोडफोडपछि भवनको छतमा फसेका एक जना पत्रकारले आफ्नो कष्टप्रद अनुभव सार्वजनिक गरेका छन् । 

उहाँका अनुसार भीडको एक समूहले प्रथम आलोको कार्यालयमा आक्रमण गरेपछि द डेली स्टारको भवनतर्फ अगाडि बढेको बाहिरबाट आएको फोन कलमार्फत जानकारी प्राप्त भएपछि उनीहरू सतर्क भएका थिए । चेतावनी प्राप्त भएपछि समाचार कक्षमा कार्यरत कर्मचारीले सुरक्षितरूपमा भवन खाली गर्ने प्रयास गरे । तर, त्यतिन्जेलसम्म भीडले भुइँतलासम्म पुगेर व्यापक तोडफोड गरिसकेको थियो र त्यसपछि भवनमा आगो लगाइएको थियो । 

बाक्लो धुवाँ फैलिँदै गएपछि तल झर्न असम्भव देखेर पत्रकारको समूहले १० औँ तलाको छततर्फ भागेर ज्यान जोगाउनु परेको थियो । केही समयपछि फायर सर्भिसका कर्मचारी घटनास्थलमा पुगे र तल्लो तलामा लागेको आगो नियन्त्रणमा लिन सफल भए । उद्धार कार्यका क्रममा चार जना अग्नि नियन्त्रक छतमा पुगेर त्यहाँ फसेका व्यक्तिलाई सुरक्षितरूपमा बाहिर निकाल्न सफल भएको बताइएको छ । घटनापछि उत्पन्न असुरक्षा र क्षतिको अवस्थाका कारण शुक्रबार प्रथम आलो र द डेली स्टार दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...