सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

Published on

काठमाडौं । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानुनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवच खस्किँदै गएको विज्ञको मूल्याङ्कन छ । आगामी वर्षको सुरुआतमै दुई महत्त्वपूर्ण घटनाले आणविक नियन्त्रणको भविष्यलाई थप अनिश्चित बनाउने छ । फेब्रुअरी ५ मा अमेरिका र रुसबिचको अन्तिम प्रमुख द्विपक्षीय आणविक सन्धि ‘न्यु स्टार्ट’ समाप्त हुँदैछ । त्यसै गरी अप्रिलमा न्युयोर्कमा आणविक हतियार अप्रसार सन्धि (एनपिटी) को समीक्षा सम्मेलन (रेभकोन) आयोजना हुँदैछ । चारदेखि पाँच वर्षमा एक पटक हुने यो सम्मेलन एनपिटीलाई सक्रिय राख्ने प्रयासका रूपमा लिइन्छ । तर पछिल्ला दुई सम्मेलनमा १९१ सदस्य राष्ट्र साझा अन्तिम दस्तावेजमा सहमत हुन नसकेको इतिहास छ र यस पटक पनि त्यस्तै नतिजा आउने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको हालैको एक अनलाइन सम्मेलनमा ‘बुलेटिन अफ द एटमिक साइन्टिस्ट्स’का वरिष्ठ अधिकारी अलेक्जान्ड्रा बेलले आगामी रेभकोन निकै कठिन हुने बताउनु भयो । 

उहाँका अनुसार वर्तमान परिस्थिति र निकट भविष्यको सम्भावनाले आणविक हतियार नियन्त्रणको तस्बिर अँध्यारो बनाएको छ । रुसको थिङ्क-ट्याङ्क सेन्टर फर एनर्जी एन्ड सेक्युरिटी स्टडिजका निर्देशक एन्टोन क्लोपकोभले अझ कडा शब्दमा प्रतिक्रिया जनाउँदै हतियार नियन्त्रण संरचना लगभग पूर्ण विघटनको नजिक पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले यथार्थवादी भएर अहिलेसम्म बाँकी रहेका संयन्त्र जोगाउने प्रयास नै अहिलेको उत्तम विकल्प भएको उल्लेख गर्नु भयो । सन् २०२५ मा अन्तर्राष्ट्रिय आणविक वातावरण झन् तनावपूर्ण बनेको छ । इरानी आणविक साइटमा अमेरिकी आक्रमण, रुसले नयाँ ब्युरेभेस्टनिक आणविक-सञ्चालित क्रुज मिसाइलको परीक्षण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावितरूपमा आणविक परीक्षण पुनः सुरु गर्न सकिने सङ्केत दिनुले विश्वलाई थप चिन्तित बनाएको छ । फ्रान्सको फाउन्डेसन फर स्ट्रेटेजिक रिसर्चका इमानुएल मैत्रेले हतियार नियन्त्रणको सम्पूर्ण संरचना क्रमशः कमजोर हुँदै गएको बताउनु भयो ।

विज्ञका अनुसार मुख्य चुनौती विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन हो । लामो समयसम्म आणविक नियन्त्रण अमेरिका-रुस सम्बन्धको वरिपरि केन्द्रित थियो । तर चीनको तीव्र उदय, नयाँ प्रविधि र बहुध्रुवीय विश्व व्यवस्थाले परम्परागत द्विपक्षीय मोडेललाई जटिल बनाएको छ । पेकिङ विश्वविद्यालयका हुआ हानका अनुसार आणविक र परम्परागत शक्तिबिचको बढ्दो अन्तरसम्बन्ध, हाइपरसोनिक हतियारजस्ता नयाँ प्रविधि र मिसाइल रक्षा प्रणालीले प्रतिरोध अवधारणालाई बहु–डोमेनमा रूपान्तरण गरिरहेका छन् । चीन-रुस सहकार्यले युरोप र एसिया-प्रशान्त क्षेत्रमा रणनीतिक गणना अझ कठिन बनाएको उहाँको भनाइ छ । न्यु स्टार्ट सन्धि समाप्त भएमा निरीक्षण प्रणाली, मिसाइल सार्दा दिने सूचना र पारदर्शिता संयन्त्र पूर्णरूपमा अवरुद्ध हुने छन् । मैत्रेका अनुसार हाल स्वैच्छिक प्रतिबद्धताबाहेक प्रभावकारी संयन्त्र बाँकी रहने छैन । तर केही अमेरिकी विश्लेषक भने न्यु स्टार्टको अन्त्यलाई अमेरिका-हितमै भएको तर्क प्रस्तुत गर्छन् । हेरिटेज फाउन्डेसनका रोबर्ट पिटर्सका अनुसार यो सन्धिले तीव्र रूपमा विस्तार भइरहेको चिनियाँ आणविक क्षमतालाई समेट्न नसक्ने भएकाले त्रिपक्षीय दृष्टिकोण आवश्यक छ ।

उहाँका अनुसार चीनले प्रत्येक वर्ष ठुलो सङ्ख्यामा नयाँ वारहेड र मिसाइल साइलो निर्माण गरिरहेको छ तर बेइजिङले अहिलेसम्म त्रिपक्षीय निःशस्त्रीकरण वार्तामा सहभागी हुन अस्वीकार गर्दै आएको छ । यद्यपि, न्यु स्टार्टको समाप्तिले तुरुन्तै विशाल हतियार विस्तार हुने सम्भावना कम रहेको मैत्रेको आकलन छ । अमेरिका र रुस दुवैतर्फ केही हतियार सेवामा फर्काउने क्षमता भए पनि व्यवहारिक अवरोधले ती प्रक्रिया सुस्त रहने उहाँले बताउनु भयो । त्यस्तै, रेभकोनबाट अन्तिम दस्तावेज ननिस्कँदा एनपिटी तुरुन्तै धरापमा नपर्ने भए पनि दीर्घकालमा कूटनीतिक समाधानका उपाय कमजोर हुने जोखिम भने बढ्ने छ । मैत्रेले चेतावनी दिँदै भन्नुभयो, “एनपिटी जति कम प्रभावकारी बन्छ, सङ्कटको बेला सामूहिक समाधान खोज्नु त्यति नै कठिन हुन्छ ।” कमजोर हुँदै गएको आणविक नियन्त्रण व्यवस्थाले भविष्यमा अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि गम्भीर चुनौती खडा गर्न सक्ने सङ्केत विज्ञले दिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...