पाँच वर्षपछि म्यान्मामा निर्वाचन

Published on

काठमाडौं । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरेको छ । जुन्ताले यस चुनावलाई प्रजातन्त्रतर्फ फर्किने कदमका रूपमा प्रस्तुत गरिरहेको भए पनि अन्तर्राष्ट्रिय समुदाय र प्रजातन्त्र समर्थकले यसलाई कडा प्रतिबन्ध र दमनबीच गरिएको वैधानिकता खोज्ने प्रयासका रूपमा लिएका छन् । सन् २०२१ फेब्रुअरीमा सैनिक कू भएपछि दशकौँ लामो लोकतान्त्रिक अभ्यास समाप्त भएको थियो । त्यस बेला निर्वाचित नागरिक नेत्री आङ सान सुकी पदबाट हटाइनुभएको थियो र हाल उहाँ जेलमा हुनुहुन्छ । उहाँको अत्यन्त लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन गरिएको छ । सुकीले भ्रष्टाचारदेखि कोभिड–१९ प्रतिबन्ध उल्लङ्घनसम्मका अभियोगमा २७ वर्षको सजाय भोगिरहनु भएको छ, जसलाई अधिकारकर्मीले राजनीतिकरूपमा प्रेरित भनेका छन् । एक महिनासम्म चरणबद्ध रूपमा हुने मतदानलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकले अस्वीकार गरेका छन् । उनीहरूका अनुसार सैन्य समर्थक दलले भरिएको मतपत्र, असहमतिमाथि कडा दमन र मार्सल ल को अवस्थालाई ‘नयाँ नाम’ दिएर प्रस्तुत गरिएको छ । करिब पाँच करोड जनसङ्ख्या भएको म्यान्मा गृहयुद्धले थिलथिलो बनेको छ र विद्रोही नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान नै नहुने जनाइएको छ ।

जुन्ता नियन्त्रणमा रहेका याङ्गुन, माण्डले र राजधानी नेपिडोका निर्वाचन क्षेत्रमा आइतबार बिहानदेखि पहिलो चरणको मतदान सुरु हुने बताइएको छ । तर सर्वसाधारणमा उत्साह देखिएको छैन । उत्तरी सहर माइटकिनाका एक बासिन्दाले मतदान बहिष्कार गर्ने बताउँदै सेनाले बल प्रयोग गरेर लिएको सत्ता वैधानिक बनाउन खोजिरहेको आरोप लगाए । अर्का एक बासिन्दाले चुनावमा चासो कम भए पनि बेवास्ता गरेमा समस्यामा पर्न सकिने डर रहेको बताए । जुन्ता प्रमुख मिन आङ ह्लाइङले एएफपीको अन्तर्वार्ता अनुरोधमा प्रतिक्रिया दिनु भएको छैन । तर सरकारी सञ्चारमाध्यममार्फत उहाँले चुनावलाई मेलमिलापको अवसरका रूपमा चित्रण गर्नु भएको छ, यद्यपि नतिजापछि पनि सेनाले राजनीतिक नेतृत्वमा भूमिका खेलिरहने स्वीकार गर्नु भएको छ । वर्तमान संविधानअनुसार संसदको २५ प्रतिशत सिट सेनाका लागि आरक्षित छन् । सन् २०२० को चुनावमा एनएलडीले ठूलो विजय हाँसिल गरेपछि व्यापक धाँधलीको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो । एसियन नेटवर्क फर फ्रि इलेक्सन्सका अनुसार सन् २०२० को चुनावमा सहभागी अधिकांश दल अहिले विघटन भइसकेका छन् र करिब ९० प्रतिशत सिट यस पटकको मतपत्रमा देखिँदैनन् । सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी सबैभन्दा ठूलो सहभागी बनेको छ । यस निर्वाचनमा नयाँ इलेक्ट्रोनिक मतदान मेसिन प्रयोग गरिँदैछ, जसले उम्मेदवार लेख्न वा मतपत्र बिगार्न अनुमति दिँदैन । साथै, मतदान अवरोध गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार करिब २२ हजार राजनीतिक बन्दी जुन्ताको जेलमा छन् ।

केही राजनीतिक समूहले भने द्वन्द्वमा फसेको देशका लागि मतदान नै एक मात्र बाटो भएको तर्क गरेका छन् । पिपुल्स पार्टीका नेता को को गीले चुनावपछि केही परिवर्तन आउने आशा व्यक्त गर्नुभएको छ । सत्ता कब्जापछि सेनाले प्रजातन्त्र समर्थक आन्दोलनमाथि कडा दमन गरेपछि धेरै कार्यकर्ता जातीय अल्पसङ्ख्यक सशस्त्र समूहसँग मिलेर छापामार लडाइँमा लागेका छन् । जुन्ताले केही क्षेत्रमा मतदान हुन नसक्ने स्वीकार गरेको छ भने हवाई आक्रमणजस्ता कारबाही जारी राखेको छ । यस महिनाको पश्चिमी राखाइन राज्यको एक अस्पतालमा भएको हवाई आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय स्रोतले बताएका छन् । गृहयुद्धका कारण हालसम्मको आधिकारिक मृतक सङ्ख्या सार्वजनिक गरिएको छैन । तर सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्थाका अनुसार सबै पक्षबाट करिब ९० हजार मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले करिब ३६ लाख मानिस विस्थापित भएको र देशको आधा जनसङ्ख्या गरिबीमा बाँचिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि यी चुनावले म्यान्माको समस्या समाधानमा योगदान नपुर्याउने धारणा व्यक्त गर्नु भएको थियो । दोस्रो चरणको मतदान जनवरी ११ मा हुने जनाइएको छ भने तेस्रो तथा अन्तिम चरणको मिति अझै तय भएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...