काठमाडौं । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा पनि निधन भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले टर्कीको राजधानी अंकारा नजिकै विमान दुर्घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रका लागि ठुलो क्षति भएको बताउनुभएको छ । टर्कीका गृहमन्त्री अली येरलिकायाकाअनुसार फाल्कन ५० प्रकारको व्यवसायिक जेट विमान (टेल नम्बर ९ एच–डीएफजे) अंकाराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो । उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो । तर साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो । टर्कीका सुरक्षा फौजले अंकाराको हायमाना जिल्लास्थित केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए ।
प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबी (इलेक्ट्रिकल फेलियर) कारण दुर्घटना भएको देखिएको छ र तोडफोडको सम्भावना नरहेको टर्की अधिकारीहरूले बताएका छन् । लिबियाका सेना प्रमुख अल–हद्दाद टर्कीमा उच्चस्तरीय सैनिक वार्ताका लागि जानुभएको थियो । मङ्गलबार नै उहाँले टर्कीका रक्षा मन्त्री यासार गुलेर र टर्कीका सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग भेटघाट गर्नुभएको थियो । दुबै देशबिच सैनिक तथा सुरक्षा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण भएको थियो । निधन हुने अन्य अधिकारीहरूमा स्थल सेनाका प्रमुख मेजर जनरल अल–फितौरी घ्रिबेल, सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कताउइ, सेना प्रमुखका सल्लाहकार मोहम्मद अल–असावी दियाब र सेना प्रमुखको मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब रहनुभएको छ ।
विमानमा तीन जना चालक दलका सदस्य पनि हुनुहुन्थ्यो र सबैको निधन भएको अनुमान गरिएको छ । प्रधानमन्त्री द्बेइबाहले घटनाको पूर्ण छानबिन गर्ने र टर्कीमा एक प्रतिनिधिमण्डल पठाउने बताउनुभएको छ । लिबियाको राष्ट्रिय एकता सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यो घटनाले लिबियाको सैनिक नेतृत्वमा ठुलो क्षति पुगेको छ । अल–हद्दाद सन् २०२० देखि लिबियाको सेना प्रमुखको रूपमा नियुक्त हुनुभएको थियो र देशको स्थिरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । गोरखापत्र

