इन्टरनेट बन्दबिच इरानमा उग्र प्रदर्शन

Published on

काठमाडौं । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नु भएपछि प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । तेहरान र अन्य सहरका सडकमा प्रदर्शनपछि भग्नावशेष छरिएका देखिएका छन् । कार्यकर्ताले बाहिर पठाएका छोटा अनलाइन भिडियोमा प्रदर्शनकारीले आगो बाल्दै इरानको ईश्वरतान्त्रिक शासनविरुद्ध नारा लगाएको देखिन्छ । लामो समय मौन बसेको इरानी राज्य टेलिभिजनले शुक्रबार पहिलो पटक प्रतिक्रिया जनाउँदै प्रदर्शन हिंसात्मक बनेको र ‘हताहत’ भएको दाबी गरेको छ, तर त्यसबारे विस्तृत विवरण दिएको छैन । 

राज्य मिडियाले अमेरिका र इजरायलका ‘आतङ्कवादी एजेन्ट’ ले आगजनी र हिंसा भड्काएको आरोप पनि लगाएको छ । सञ्चार अवरोधका कारण प्रदर्शनको वास्तविक आकार र फैलावट तुरुन्तै पुष्टि गर्न सकिएको छैन । तर कमजोर अर्थतन्त्र, महँगी र बेरोजगारीले थलिएको अवस्थामा सुरु भएको यो आन्दोलन पछिल्ला वर्षमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकको भनाइ छ । यो विरोध प्रदर्शनलाई निर्वासित युवराज रेजा पहलवीको आह्वानप्रति जनसमर्थन कति छ भन्ने पहिलो ठूलो परीक्षणका रूपमा पनि हेरिएको छ । उहाँका पिता, पूर्व शाह, सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि देश छाड्न बाध्य हुनुभएको थियो । पछिल्ला प्रदर्शनमा शाहको समर्थनमा नाराबाजीसमेत सुनिनु, पहिले मृत्युदण्डसम्म हुन सक्ने अवस्थाको तुलना गर्दा जनआक्रोश कति गहिरो छ भन्ने सङ्केत मानिएको छ । अमेरिकास्थित मानव अधिकार निगरानी समूहका अनुसार हालसम्मको झडप र दमनमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने दुई हजार २७० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको छ । युवारज पहलवीले बिहीबार र शुक्रबार साँझ ८ बजे पुनः सडकमा उत्रिन आह्वान गर्नु भएको थियो ।

विश्लेषक होली डाग्रेसका अनुसार सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाबाट धेरै इरानी नागरिकले इस्लामिक गणतन्त्र हटाउने उद्देश्यसहित प्रदर्शनलाई गम्भीर रूपमा लिएको स्पष्ट हुन्छ । उहाँका अनुसार विश्वले प्रदर्शन नदेखोस् र सुरक्षा बललाई कडा कारबाही गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट बन्द गरेको हो । इन्टरनेट बन्द हुनुअघि बिहीबार साँझ तेहरानका विभिन्न बस्तीमा ‘तानाशाह मूर्दावाद’ र ‘इस्लामिक गणतन्त्र मूर्दावाद’ जस्ता नाराले आकाश गुन्जिएको प्रत्यक्षदर्शीले बताएका छन् । केहीले ‘यो अन्तिम युद्ध हो, पहलवी फर्कनु हुने छ’ भन्दै शाहको प्रशंसा गरेका थिए । युवराज पहलवीले सञ्चार बन्दलाई जनताको आवाज दबाउने प्रयास भन्दै युरोपेली नेतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह गर्नु भएको छ ।  उहाँले इरानी जनताको आवाज चुप लाग्न नदिन अन्तर्राष्ट्रिय समुदायले सबै प्राविधिक, वित्तीय र कूटनीतिक उपाय अपनाउनुपर्ने बताउनु भएको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सुरक्षाबल वा सरकारले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका नागरिकमाथि हत्या, अत्यधिक बल प्रयोग वा दमन गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । 

उहाँले हाल युवराजसँग प्रत्यक्ष भेट उपयुक्त नहुने बताउँदै घटनाक्रमको परिणाम कुर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । हालैका वर्षमा प्रतिबन्ध र क्षेत्रीय द्वन्द्वका कारण इरानको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । १२ दिने युद्धपछि रियाल मुद्रा ऐतिहासिक रूपमा कमजोर बनेको अवस्थामा सुरु भएको यो आन्दोलनले आगामी दिनमा इरानको राजनीतिक दिशा कता मोडिन्छ भन्नेबारे गहिरो प्रश्न खडा गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...