रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन

Published on

काठमाडौं । एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।फक्स न्युजसँगको अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफूले त्यसबारे केही भन्न नचाहेको बताउनुभयो । उहाँका अनुसार घटनाका क्रममा त्यहाँ रूसी पनडुब्बी र एक विध्वंसक जहाज देखिएका थिए, तर अमेरिकी सेनाको उपस्थितिपछि ती दुवै छिट्टै त्यहाँबाट हटेका थिए । “हामीले जहाज नियन्त्रणमा लियौँ र अहिले त्यसबाट तेल उतारिएको छ”, उहाँले दाबी गर्नुभयो । अमेरिकी सेनाले उच्च समुद्रमा एक सातासम्म खोजी गरेपछि बुधबार ट्याङ्करमा चढी नियन्त्रणमा लिएको थियो । यो कारबाहीले मस्कोसँगको तनाव बढाउनुका साथै रुसको सहयोगी भेनेजुएलामाथि पनि दबाब बढाएको विश्लेषण गरिएको छ । यद्यपि विश्लेषण संस्था केप्लरका अनुसार जफतका बेला ट्याङ्करमा कुनै तेल थिएन, जसले राष्ट्रपति ट्रम्पको दाबीमाथि प्रश्न उठाएको छ ।

उक्त ट्याङ्कर पहिले ‘बेला–१’ नामले परिचित थियो र सन् २०२४ मा अवैध रूपमा इरानी तेल ढुवानी गर्ने तथाकथित ‘छाया फ्लीट’ मा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । गत महिना गुयाना झण्डामुनि भेनेजुएलातर्फ जाँदै गर्दा अमेरिकी तटरक्षकले जहाज नियन्त्रणमा लिन खोज्दा चालकदलले अस्वीकार गर्दै जहाज एटलान्टिकतर्फ फर्काएको थियो । पछि चालकदलले जहाजमा रूसी झण्डा रङ्ग्याए र रूसी शिपिङ रजिस्ट्रीमा ‘मारिनेरा’ नाममा दर्ता गराए । जहाज ट्र्याकिङ डाटाअनुसार उत्तरी एटलान्टिकमा आइसल्यान्डको दक्षिणी तटबाट करिब १९० माइल टाढा ट्याङ्कर जफत गरिएको थियो । यस अपरेसनका क्रममा अमेरिकी नौ सेना सील र १६०औँ स्पेशल अपरेसन एभियसन रेजिमेन्टका सदस्य संलग्न थिए । 

बेलायतको रक्षा मन्त्रालयले अमेरिकी अनुरोधपछि सहयोग गरेको जनाएको छ । तर अमेरिकाले अपरेसनको आधिकारिक भिडियो सार्वजनिक गरेको छैन । रुसले यस जफतको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुद्री कानुनको उल्लङ्घन भएको दाबी गरेको छ । रुसी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन माग गरेको छ भने एक रुसी सांसदले यस घटनालाई ‘२१ औँ शताब्दीको समुद्री डकैती’ भनेका छन् । राष्ट्रपति पुटिनले भने हालसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन । चीनले पनि यस कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेको छ । यद्यपि ह्वाइट हाउसले रुस र चीनसँग तनाव बढ्न सक्ने चिन्ताबिच पनि प्रतिबन्धित र अवैध रूपमा तेल ढुवानी गर्ने जहाजविरुद्ध कारबाही जारी रहने स्पष्ट पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...