किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

Published on

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नु भएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उहाँले एक महत्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उदघाटनका क्रममा उच्च अधिकारीमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गर्नु भएको हो ।सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार किमले याङलाई ‘घटना स्थलमै’ पदमुक्त गर्न आदेश दिनु हुँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीलाई तीव्र रूपमा हप्काउनु भयो । ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्”, उहाँले भनाइलाई केसिएनएले उद्धृत गरेको छ ।

आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ । यद्यपि किमले विगतमा पनि आर्थिक नीतिको कथित खराब व्यवस्थापनका लागि अधिकारीलाई आलोचना गर्दै आउनु भएको भए पनि यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ । सोमबार हामग्योङ प्रान्तमा रहेको औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताले राज्यको विकासमा अवरोध पुर्याएको बताउनुभयो । याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उहाँले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गर्नुभयो । “गाडी तान्ने गोरु हो, बाख्रा होइन”, भन्दै किमले प्रभावकारी र सक्षम नेतृत्वको आवश्यकता औँल्याउनु भयो ।

राज्य मिडियाले सार्वजनिक गरेका तस्बिरमा किम चिसो उत्तरपूर्वी क्षेत्रमा कामदार माझ कठोर भावमा सम्बोधन गरिरहनु भएको देखिन्छ । उत्तर कोरियाले लामो समयदेखि सेनालाई प्राथमिकता दिँदै आएको छ भने कमजोर पूर्वाधार, वन विनाश र दशकौँको खराब व्यवस्थापनका कारण बाढी र खडेरी जस्ता प्राकृतिक विपद्को जोखिममा रहेको छ । युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका विज्ञ याङ मू-जिनका अनुसार नयाँ मेसिनरी कम्प्लेक्स उत्तरपूर्वलाई दक्षिणतर्फ वोनसनसँग जोड्ने औद्योगिक बेल्टको हिस्सा हो, जसले देशको कुल मेसिनरी उत्पादनको करिब १६ प्रतिशत योगदान दिन्छ । उहाँका अनुसार याङको सार्वजनिक बर्खास्ती सत्तारूढ पार्टीभित्र अनुशासन कडा बनाउने र अधिकारीलाई चेतावनी दिने रणनीतिसँग जोडिएको छ ।

प्योङयाङ आगामी पाँच वर्षमा पहिलो पटक हुने पार्टी सम्मेलनको तयारीमा रहेको छ । विश्लेषकका अनुसार सम्मेलनमा आर्थिक नीति, रक्षा र सैन्य योजना मुख्य एजेन्डा बन्ने सम्भावना छ । गत महिना किमले शीर्ष नेताको बैठकमा पार्टीभित्र देखिएका भ्रष्टाचारजन्य प्रवृत्ति र अनुशासनहीनतालाई पूर्ण रूपमा समाप्त गर्ने प्रतिबद्धता जनाउनु भएको थियो, जसलाई राज्य मिडियाले ‘दुष्टता’ र हाल देखिएको ‘विचलन’ भनेर उल्लेख गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...