डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेतासँगको सम्भावित टकरावको वातावरणबिच डाभोस आइपुग्नु भएको छ । ग्रिनल्यान्ड अधिग्रहण सम्बन्धी उहाँको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबिचको ट्रान्स-अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ । विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिन अघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नु भएको थियो । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको भविष्यलाई लिएर उहाँको कडा अडान नै छलफलको केन्द्र बन्ने देखिएको छ । तर स्विस स्की रिसोर्टमा भेला भएका युरोपेली नेताले राष्ट्रपति ट्रम्पको आक्रामक धारणा विरुद्ध एकजुट प्रतिक्रिया जनाउने सङ्केत दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘बदमाशी’ विरुद्ध दृढतापूर्वक उभिने बताउनु भएको छ भने युरोपेली सङ्घ (इयु)ले अविचल र सामूहिक प्रतिक्रिया जनाउने प्रतिबद्धता व्यक्त गरेको छ । डेनमार्क नाटोको सहयोगी सदस्य रहेको सन्दर्भमा ग्रिनल्यान्ड अधिग्रहणका लागि कति टाढासम्म जान सक्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति ट्रम्पले ‘तपाईले पत्ता लगाउनु हुने छ’ भन्ने जवाफ दिनु भएको थियो ।

ह्वाइट हाउस छोड्दा उहाँले डाभोस भ्रमणको अन्त्य कस्तो होला भन्ने आफूलाई निश्चित थाहा नभएको स्वीकार गर्नुभयो । भ्रमणको सुरुआतमै राष्ट्रपतिको जेटमा आएको सानो विद्युतीय समस्याका कारण विमान फर्किनु परेको थियो र राष्ट्रपति तथा उहाँको टोली अर्को विमान प्रयोग गर्न बाध्य भएका थिए । विश्वका आर्थिक र राजनीतिक नेतृत्वको वार्षिक भेलामा राष्ट्रपति ट्रम्पले छ वर्षपछि पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो । उहाँको भाषण स्थानीय समय अनुसार दिउँसो २:३० बजे तय गरिएको छ । तर ग्रिनल्यान्ड सम्बन्धी महत्वाकांक्षाका कारण दशकौँयताकै सबैभन्दा ठूलो अमेरिका-युरोप मतभेद सतहमा आएको भन्दै उहाँले डाभोसमा यस विषयमा धेरै द्विपक्षीय भेटघाट गर्ने बताउनु भएको छ । रूस र चीनसँगको रणनीतिक प्रतिस्पर्धाका कारण खनिज-धनी ग्रिनल्यान्ड अमेरिका र नाटो सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको राष्ट्रपति ट्रम्पको तर्क छ । पग्लँदो आर्कटिक क्षेत्रमा महाशक्तिबिच प्रभाव विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गएको उहाँको भनाइ छ । यसै सन्दर्भमा उहाँले डेनमार्कलाई समर्थन गर्ने आठ युरोपेली देशमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिनु भएको छ, जसले युरोपेली पक्षबाट अमेरिका विरुद्ध प्रतिकारको चेतावनी आएको छ ।

युरोपले अमेरिकी बजारमा ‘व्यापारिक बाजुका’ प्रयोग गर्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले ती धम्कीलाई अस्वीकार गर्नु भएको छ । एक अन्तर्वार्तामा उहाँले युरोपले जस्तो सुकै कदम चाले पनि अन्ततः त्यसको असर उनीहरू तर्फै फर्कने दाबी गर्नुभयो । आगामी केही दिनमै समाधान खोज्न सकिने सम्भावनासमेत उहाँले औँल्याउनु भएको छ । मङ्गलबार डाभोसमा राष्ट्रपति म्याक्रोनले अमेरिकी प्रयासले युरोपलाई अधीनमा राख्न खोजेको आरोप लगाउँदै कर धम्की अस्वीकार्य भएको बताउनुभयो । राष्ट्रपति ट्रम्पले म्याक्रोनले पठाएको सन्देश सार्वजनिक गरेपछि दुई नेताबिच थप कटाक्षपूर्ण वातावरण बनेको थियो । पछि राष्ट्रपति ट्रम्पले त्यस्तो कुनै बैठकमा सहभागी नहुने बताउनुभयो भने राष्ट्रपति म्याक्रोनले औपचारिक बैठक तय नभएको स्पष्ट पार्नुभयो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिका-युरोप सम्बन्ध ‘तल झर्ने’ जोखिममा रहेको चेतावनी दिनु भएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने डाभोसमा ग्रिनल्यान्ड र डेनमार्कको पक्षमा स्पष्ट समर्थन जनाउँदै प्रशंसा पाउनु भएको छ । उहाँले क्यानाडा दृढतापूर्वक डेनमार्क र ग्रिनल्यान्डसँग उभिएको बताउनुभयो ।

ग्रिनल्यान्डका प्रधानमन्त्रीले मङ्गलबार करिब ५७ हजार जनसङ्ख्या रहेको आफ्नो समुदायलाई सम्भावित सैन्य चुनौतीका लागि तयार रहनु पर्ने बताउनुभएको छ । लिथुआनियाका राष्ट्रपति गिटानस नौसेदाले मित्र राष्ट्रविरुद्ध अमेरिकाले कुनै कदम चाले त्यसले ‘नाटोको अन्त्य’ हुन सक्ने चेतावनी दिनुभयो । यसैबिच राष्ट्रपति ट्रम्पले आफूले नाटोका लागि अरू कसैभन्दा बढी योगदान दिएको दाबी गर्दै सहयोगी राष्ट्रको प्रतिबद्धतामाथि प्रश्न उठाउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि प्रस्तावित तथाकथित ‘शान्ति बोर्ड’को पहिलो चार्टर घोषणा गर्ने तयारीसमेत गर्नु भएको छ, जसको भूमिका गाजाबाट सुरु भए पनि कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मात्र सीमित नहुने देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...