भारत-युरोप व्यापार सहमति ऐतिहासिक

Published on

काठमाडौं । भारत र युरोपेली सङ्घ (इयु) बिच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले मङ्गलबार बिहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको हो । प्रधानमन्त्री मोदीले सोमबार सम्पन्न भएको यो सम्झौताले विश्वका दुई प्रमुख अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबाट सिर्जित चुनौतीको सामना गर्न भारत र इयु दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । “विश्वभरका मानिसले यस सम्झौतालाई सबै सम्झौताको आमाका रूपमा हेरिरहेका छन्”, प्रधानमन्त्री मोदीले नयाँदिल्लीमा आयोजित भेटअघि भन्नुभएको थियो । उहाँका अनुसार यो सम्झौताले भारतका करिब एक अर्ब ४० करोड नागरिक र इयुका लाखौँ जनताका लागि नयाँ सम्भावना र अवसर खोल्ने छ । प्रधानमन्त्रीले यो सम्झौताले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २५ प्रतिशत र विश्व व्यापारको करिब एक तिहाइ हिस्सा प्रतिनिधित्व गर्ने तथ्य पनि उल्लेख गर्नु भएको थियो ।

सोमबार भारतको गणतन्त्र दिवस परेडमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका इयुका नेता मङ्गलबार बिहान प्रधानमन्त्री मोदीसँग औपचारिक छलफलमा बस्नु भएको हो । इयुले विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतलाई भविष्यका लागि अत्यन्तै महत्वपूर्ण र रणनीतिक बजारका रूपमा लिएको छ । त्यसै गरी, नयाँदिल्लीले इयुलाई आफ्नो तीव्र गतिमा बढ्दै गएको पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा लाखौँ नयाँ रोजगारी सिर्जना गर्न आवश्यक लगानीको प्रमुख स्रोतका रूपमा हेरेको छ । दुवै पक्षबिचको आपसी निर्भरता र विश्वासलाई यो सम्झौताले अझ बलियो बनाउने अपेक्षा गरिएको छ । सन् २०२४ मा भारत र इयुबिच सामानको द्विपक्षीय व्यापार एक खर्ब २० अर्ब युरो (करिब एक खर्ब ३९ अर्ब अमेरिकी डलर) पुगेको इयुको तथ्याङ्कले देखाउँछ । यो पछिल्लो एक दशकमा झण्डै ९० प्रतिशतले वृद्धि भएको हो । यसका अतिरिक्त, सेवाको व्यापारमा करिब ६० अर्ब युरो (६९ अर्ब डलर) थप कारोबार भएको छ ।

सम्झौता अनुसार भारतले कपडा, औषधि लगायतका क्षेत्रका उत्पादनलाई युरोपेली बजारमा सहज पहुँच दिलाउने सर्तमा कार, वाइन जस्ता प्रमुख युरोपेली उत्पादनहरूका लागि आफ्नो बजार अझ खुला गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष भोन डेर लेयनले इयुले परम्परागत रूपमा संरक्षण गरिएको भारतीय बजारमा अहिलेसम्मकै उच्च स्तरको पहुँच पाउने बताउँदै भारततर्फको युरोपेली निर्यात दोब्बर हुने आशा व्यक्त गर्नु भएको छ । उहाँका अनुसार यो सम्झौताबाट इयुले प्रमुख औद्योगिक तथा कृषि वस्तु क्षेत्रमा उल्लेखनीय प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने छ । भारतका लागि भने कपडा, रत्न तथा गहना, छाला जन्य वस्तु, साथै सेवा क्षेत्र जस्ता महत्वपूर्ण उद्योगलाई ठूलो प्रोत्साहन मिल्ने प्रधानमन्त्री मोदीले स्पष्ट पार्नु भएको छ । इयुको पक्षबाट भारतमा अटोमोबाइल, वाइन तथा खाद्य सामग्रीको निर्यातमा लाग्ने कर घट्ने अपेक्षा गरिएको छ । यद्यपि, वार्तासँग परिचित स्रोतका अनुसार स्टिलमा लागु हुने इयुको कार्बन सीमा करजस्ता केही जटिल विषयमा अन्तिम क्षणसम्म गहन छलफल भएको थियो । ब्रसेल्स र नयाँदिल्ली दुवैले अमेरिकी कर नीति र चिनियाँ निर्यात नियन्त्रणको दबाबबिच नयाँ र भरोसा योग्य बजार खोजिरहेका बेला यो सम्झौता सम्पन्न भएको हो । यससँगै मौसमी कामदार, विद्यार्थी, शोधकर्ता तथा उच्च दक्ष पेशेवरको आवागमन सहज बनाउने अलग सम्झौता र सुरक्षा तथा रक्षा सहकार्य सम्बन्धी समझदारी पनि हुने अपेक्षा गरिएको छ ।

“भारत र युरोपले स्पष्ट छनोट गरेका छन् । रणनीतिक साझेदारी, संवाद र खुलापनको छनौट”, अध्यक्ष भोन डेर लेयनले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “हामी विभाजित हुँदै गएको संसारलाई देखाउँदै छौँ कि सहकार्यको अर्को बाटो पनि सम्भव छ ।” अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार भारत यसै वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ । दशकौँसम्म प्रमुख सैन्य उपकरणका लागि मस्कोमा निर्भर रहँदै आएको भारतले हालका वर्षमा आयात विविधीकरण र स्वदेशी उत्पादन बढाउँदै रुसमाथिको निर्भरता घटाउने प्रयास गरिरहेको छ । इयुले पनि संयुक्त राज्य अमेरिकासँगको निर्भरतामा यस्तै प्रकारको सन्तुलन खोजिरहेको सन्दर्भमा यो सम्झौता दुवै पक्षका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...