काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । माघ २२ गते देखि धरान १६ स्थित रङ्गशालामा सुरु हुने गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । अटिजमबारे सचेतना जगाउनको लागि र अटिजम भएका बच्चाहरुलाई माया गरौं भन्ने सन्देश दिनको लागि उद्घाटन खेलअघि दुबै टिमका खेलाडीहरु मैदान प्रवेश गर्दा अटिजम भएका बच्चाहरुलाई साथमा लिएर प्रवेश गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारतबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा न्यूरोड टिम(एनआरटी), चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथग क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एशोसिएशन, झापा ११, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरि १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले उपाधि ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउने छ । फाइनल खेल्ने दुई टिमबाट उत्कृष्ट खेलाडी छनौट गरेर सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको प्रिक्वार्टर खेलहरुको टिकटदर सय रुपैया, सेमीफाइनलको २ सय र फाइनलको ४ सय रुपैया रहेको छ ।
विद्यार्थीहरुलाई प्रिक्वार्टरको ५० र सेमीफाइनलको सय रुपियाँ टिकट लाग्नेछ भने फाइनलमा छुट नदिइने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा गुरुङ बिबिक्युका सञ्चालकले आयोजक क्लबका प्रशिक्षकहरुलाई ट्रयाक सुट वितरण गर्नुभएको थियो । गोरखापत्र

