मत माग्न घर–घरमा नेता, मतदातालाई जीर्ण पुलको चिन्ता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्दै गाउँ–गाउँ र घर–घरमा पुगिरहेका छन् । तर गुल्मी क्षेत्र नम्बर–१ का मतदाताहरूलाई भने चुनावी नाराभन्दा पनि दैनिक रूपमा प्रयोग गर्नुपर्ने जीर्ण पुलको चिन्ताले सताइरहेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण अवस्थामा पुगेको छ । लामो समयदेखि पुल कमजोर बन्दै गए पनि नयाँ पुल निर्माण हुन नसक्दा स्थानीयवासीले उम्मेदवारहरूसँग यही विषयलाई मुख्य मागका रूपमा उठाइरहेका छन् । कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका स्थानीय पुरुषोत्तम पाण्डेले नेताभन्दा पनि आफूहरूलाई दैनिक आवत–जावत गर्नुपर्ने पुलको चिन्ता भएको बताउनुभयो । “दश वर्षदेखि पुल जीर्ण छ, तर नयाँ पुल बनाउनेतर्फ कसैले गम्भीर पहल गरेको देखिएन,” उहाँले दुःखेसो गर्नुभयो ।

त्यस्तै, सोही पुल हुँदै नियमित रूपमा सवारी सञ्चालन गर्ने चालक गगन तरामुले पनि जीर्ण पुलबाट यात्रा गर्नु जोखिमपूर्ण र कष्टकर बनेको बताउनुभयो । आवश्यक नभएको स्थानमा नेताको पहुँचका आधारमा पुल बन्ने तर अत्यावश्यक ठाउँमा बेवास्ता हुने गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले यस क्षेत्रले विकासप्रेमी नेतृत्व नपाएको गुनासो गर्नुभयो । कालीगण्डकी नदीले पुलका पिलरहरू कटान गर्दै लगेपछि पुल झन् कमजोर बन्दै गएको हो । बुटवल र पोखराबाट गुल्मीको पुर्तिघाट हुँदै बाग्लुङसम्म जाने सवारी साधनले यही पुल प्रयोग गर्दै आएका छन् । दैनिक सयौँ सवारी साधन आवत–जावत गर्ने पुल भए पनि यसको अवस्था सुधारमा ध्यान नपुग्नु स्थानीयका लागि बिडम्बनापूर्ण भएको सवारी धनी र चालकहरूको गुनासो छ । केन्द्रसम्म राम्रो पहुँच भएका नेताहरू भए पनि स्थानीय पूर्वाधारमा चासो नदिएको उनीहरूको आरोप छ । रेप्कास्थित उक्त मोटरेबल पुल २०५२ सालमा निर्माण गरिएको हो । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना निर्माणका क्रममा हर्मिचौर र मिर्मी जोड्न इटालियन सरकारको सहयोगमा पुल निर्माण गरिएको थियो । तर पछिल्लो एक दशकदेखि पुल जीर्ण बन्दै जाँदा पनि आवश्यक मर्मत वा नयाँ पुल निर्माण हुन सकेको छैन ।

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण पुलको स्थानमा नयाँ पुल निर्माणका लागि स्थानीय सरकारले पहल गरे पनि केन्द्रसम्म पहुँच नपुग्दा ठोस परिणाम आउन नसकेको बताउनुभयो । आफू निर्वाचित भएदेखि नै नयाँ पक्की पुल निर्माणका लागि सडक विभागसम्म पटक–पटक धाइरहे पनि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । यस क्षेत्रबाट उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीलगायतका दलका उम्मेदवारहरूले भने स्थानीय विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । तर स्थानीयवासीहरू भने यो चुनावमा पनि पुल निर्माण केवल आश्वासनमै सीमित हुने हो कि भन्ने चिन्तामा छन् ।

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...