गण्डकी प्रदेशमा एचपिभी खोप अभियान : २१ हजारभन्दा बढी किशोरी लक्षित

Published on

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानअन्तर्गत गण्डकी प्रदेशभर यसपटक २१ हजारभन्दा बढी किशोरीलाई खोप लगाइने तयारी गरिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कुल २१ हजार एक सय ३४ किशोरीलाई एचपिभी खोप लगाइनेछ।

माघ २७ गतेबाट सुरु भएको एचपिभी खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय जान नसक्ने अवस्थाका १० वर्ष उमेर पूरा गरेका किशोरीलाई लक्षित गरी खोप लगाइँदैछ।

गण्डकी प्रदेशभर १ हजार ८ सय ४० विद्यालयमा खोप सञ्चालन गरिनेछ। जिल्लागत रूपमा सबैभन्दा धेरै कास्की जिल्लामा ५ हजार ६ सय ४९ किशोरीलाई खोप लगाइने छ। कास्कीमा भने माघ २७ गतेदेखि नै खोप अभियान सुरु भइसकेको लम्सालले जानकारी दिनुभयो। त्यस्तै गोरखामा १ हजार ८ सय ८०, म्याग्दीमा ९ सय २३, लमजुङमा १ हजार २ सय ५८, तनहुँमा २ हजार ६ सय २५, नवलपरासी (पूर्व) मा ३ हजार ५ सय ८५, स्याङ्जामा १ हजार ७ सय ८९, पर्वतमा ९ सय ५० तथा बागलुङमा २ हजार ३ जना किशोरीलाई एचपिभी खोप लगाइँदैछ।

चिसोको मात्रा बढी भएकाले मनाङ र मुस्ताङ जिल्लामा भने हालसम्म खोप अभियान सुरु गरिएको छैन। लम्सालका अनुसार मनाङ र मुस्ताङमा निर्वाचनपछि खोप अभियान सञ्चालन गरिनेछ। निर्वाचनपछि मनाङमा २६ र मुस्ताङमा १ सय ४७ जना किशोरीलाई खोप लगाइने तयारी गरिएको छ।

एचपिभी खोपले किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउने लक्ष्य राखिएको छ। नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेकाले यसको रोकथामका लागि सरकारले एचपिभी खोप अभियानलाई प्राथमिकतामा राखेको हो। सङ्घीय मन्त्रालयको पहलमा सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा निकायहरू खोप अभियानलाई सफल बनाउन सक्रिय रूपमा परिचालन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...