ढोग्दै उम्मेदवार, प्रश्न गर्दै मतदाता

Published on

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मतदाताका घर घरमा पुगेका उम्मेदवारले ज्येष्ठ नागरिकलाई ढोग्ने, आशीर्वाद लिने, दुःखसुखका कुराकानी गर्ने जस्ता व्रिmयाकलापमार्फत मतदाता आफ्नो पक्षमा पार्ने कोसिस गरेका छन् । घरआँगनमा आएका उम्मेदवारसमक्ष मतदाताले विकासनिर्माण, सुशासन कायम, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ भन्ने जस्ता प्रश्न गरेका छन् । मतदाताले २०८४ सालमा हुने निर्वाचन किन दुई वर्षअगावै गर्नु परेको जस्ता प्रश्न उम्मेदवार र दलका नेतासमक्ष सोध्न थालेका छन् । चुनाव जितेपछि हाम्रा सुखदुःख सोध्न गाउँघरतिर आउने कि नआउने ? जितेपछि गाउँभन्दा सहर किन प्यारो लाग्छ ? विकास नारामा मात्र हो कि साँच्चै गर्ने भनेर तपाईं चुनाव लड्नुभएको हो ? भन्ने जस्ता जिज्ञासा मतदाताले उम्मेदवारलाई सोध्ने गरेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्बर सुवेदी, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरे र स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मतदाताका घर घरमा पुगेका उम्मेदवारले मतदातालाई फकाउन विभिन्न विकासनिर्माणका योजना पेस गर्ने होडबाजी नै चलेको छ । उम्मेदवार बिहानदेखि राति अबेरसम्म टोल टोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारलाई भ्याइनभ्याई छ । एकै दिन धेरै बस्ती र टोलमा उम्मेदवार पुग्ने क्रम जारी रहेको छ । फागुन ४ गतेअघि चुनावी प्रचारप्रसारको कार्यक्रम गर्न नपाइने भएकाले अहिलेलाई उम्मेदवारसहित घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्रता दिएको एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । नेपाली कांग्रेसले पनि उम्मेदवारसहितको चुनावी अभियानलाई तीव्रता दिएको छ । कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले विशेष महाधिवेशनपछि कांग्रेसले साङ्गठनिक रूपमा आमूल परिवर्तन गरेर चुनावमा आएकाले मतदान गर्न मतदातासमक्ष अनुरोध गर्दै घरदैलो गरिरहेको जानकारी दिनुभयो । 

एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२ हजार ५७८ मतदाता, मङ्गलामा १३ हजार ४४६, मालिकामा १३ हजार ३५५ मतदाता रहेका छन् । त्यसै गरी  रघुगङ्गामा १४ हजार १५८, अन्नपूर्णमा १२ हजार २९ र धवलागिरिमा १० हजार ८३१ मतदाता गरेर ८६ हजार ३९७ मतदाता छन् । तीमध्ये ४२ हजार ३३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् । जिल्लामा ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र आठ वटा मतदान स्थललाई समान्य भनेर वर्गीकरण गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...