मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

Published on

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । यसले विश्वकै सर्वाधिक जनसङ्ख्या भएको राष्ट्रमा ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता बढाएको छ । कम्पनीले मङ्गलबार राति स्टक एक्सचेन्जमा जारी गरेको सूचना अनुसार होर्मुज जलडमरूमध्य हुँदै कतार इनर्जीको लोडिङ पोर्ट रास लाफानसम्म जहाज सुरक्षित रूपमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ । कतार इनर्जीले यसै साता एलएनजी उत्पादन स्थगित गरेको घोषणा गरिसकेको छ र भारतीय बजारका लागि प्रमुख आपूर्तिकर्ता मानिन्छ । यही पृष्ठभूमिमा पेट्रोनेट एलएनजीले आफ्ना तीन ट्याङ्कर-‘दिशा’, ‘राही’ र ‘असीम’-सम्बन्धमा कतार इनर्जीलाई ‘फोर्स मेज्युअर’ नोटिस पठाएको जनाएको छ । कम्पनीले कतार इनर्जीबाट पनि यस्तै नोटिस प्राप्त भएको जानकारी दिएको छ । साथै, गेल (इन्डिया), इन्डियन आयल कर्पोरेसन र भारत पेट्रोलियम कर्पोरेसन जस्ता आफ्ना घरेलु ग्राहकलाई पनि ‘फोर्स मेज्युअर’ सूचित गरिएको छ ।

कम्पनीले सम्भावित प्रभावको परिमाण अहिले नै आकलन गर्न नसकिने जनाएको छ । तर स्थानीय सञ्चार माध्यमका अनुसार केही घरेलु ग्यास आपूर्ति कर्ताले औद्योगिक ग्राहकलाई आपूर्तिमा सामान्य कटौती हुन सक्ने सङ्केत गरिसकेका छन् । भारत आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा तेल र ग्यास आयातमार्फत पूरा गर्छ । यही कारण मङ्गलबार सरकारले युद्ध लम्बिँदै गए अर्थतन्त्रमा ‘गम्भीर परिणाम’ आउन सक्ने चेतावनी दिएको थियो । यद्यपि पेट्रोलियम मन्त्रालयले देशको मौज्दात ‘सन्तोषजनक’ रहेको बताउँदै आवश्यक परे चरणबद्ध उपाय अपनाउन सकिने स्पष्ट पारेको छ । हिन्दू दैनिकले स्रोत उद्धृत गर्दै भारतसँग करिब २५ दिनका लागि कच्चा तेलको भण्डार र आगामी दुई-तीन साताका लागि एलएनजी आपूर्ति रहेको जनाएको छ । तर विश्लेषकका अनुसार कच्चा तेलको मूल्य वृद्धि दक्षिण एसियाली अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्न सक्छ ।

फिच सोलुसन्सको इकाइ बिएमआईका विश्लेषकले श्रीलङ्काले आफ्नो विद्यमान बाह्य वित्तीय दबाबका कारण कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो असर झेल्नुपर्ने टिप्पणी गरेका छन् । भारतले पनि उच्च कच्चा तेल आयात निर्भरता भएकाले थप आर्थिक दबाब सामना गर्नुपर्ने चेतावनी उनीहरूले दिएका छन् । यसरी मध्यपूर्वको अस्थिरताले ऊर्जा बजारमार्फत दक्षिण एसियाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको सङ्केत देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

काठमाडौं । इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको...