मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन पुनः सुरु

Published on

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत केन्द्रको मर्मत सम्भार कार्य  सम्पन्न भएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्यहरू निर्धारित समयमै सकिएसँगै केन्द्रले पुनः विद्युत उत्पादन सुरु गरेको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विद्युत केन्द्रहरूमध्ये क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठुलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव ७ गिगावाट घण्टा विद्युत उत्पादन गरेको थियो । चालू आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्तसम्म २९३ दशमलव ५ गिगावाट घण्टा उत्पादन गरिसकेको यस केन्द्रको दिगो सञ्चालनका लागि फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य अगाडि बढाइएको थियो । यस पटकको सटडाउनका क्रममा वर्षौँदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मानिएका कार्यहरू सम्पन्न गरिएका छन् । विशेष गरी बाँध क्षेत्र (ड्याम साइट) को माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिएको छ । साथै, विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्त्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी यसलाई सञ्चालन योग्य बनाइएको छ । मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ्ग पोखरीमा वर्षौँदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यसै अवधिमा सम्पन्न भएको छ ।

केन्द्र प्रमुख कपिलदेव मानजनले लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्यहरू र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको बताउनुभयो । उहाँका अनुसार विद्युत गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलविद्युत केन्द्रका प्राविधिकहरूलाई संलग्न गराइएको थियो । बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । केन्द्र प्रमुख मानजनले भन्नुभयो, “खोलाको बहाव न्यूनतम रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी यो मर्मतको योजना बनाइएको थियो । तालुक कार्यालय, विभाग र निर्देशनालयको विशेष समन्वय र उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौँदेखि रोकिएका महत्त्वपूर्ण सिभिल कार्यहरू यस पटक सम्पन्न गर्न सफल भएका छौँ । आगामी निर्वाचनले गर्दा जनशक्ति व्यवस्थापनमा केही चुनौती देखिए पनि सबै पक्षको सक्रियताले कार्य समयमै पुरा भएको छ । प्लान्ट सटडाउनकै अवधिमा विद्युत गृहमा एलटी टाइप ब्रेकर बदली लगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्यहरू समेत सम्पन्न भएका छन् । यस मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम न्यूनीकरण हुने केन्द्र प्रमुख मानजन बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...