काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको भोटबहालस्थित आफ्नै निवासमा सोमबार राति साढे १ बजे उहाँको निधन भएको नेपाली कांग्रेसका नेता फूलकुमार लालवानीले जानकारी दिनुभयो । स्वर्गीय नौलखाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल उहाँको निवास पुग्नुभएको थियो । महामन्त्री पौडेलले नौलखाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । स्वर्गीय इन्दुदेवीका श्रीमान् भीमराज नौलखा जननायक बिपी कोइरालाका अनन्य सहयात्री हुनुहुन्थ्यो । वि.सं. २००७ सालको क्रान्तिका क्रममा श्रीमान् भीमराज प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएका बेला इन्दुदेवीले नेपाली कांग्रेसलाई एक सय तोला सुन दान गरेर क्रान्तिमा ठुलो आर्थिक सहयोग पुर्याउनु भएको थियो ।
मारवाडी समुदायका भीमराज र इन्दुदेवीले कठिन समयमा पुर्याएको सोही योगदानका कारण यो परिवार सधैँ कोइराला परिवारसँग निकट रहेको बताइन्छ । उहाँले लामो समयसम्म प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका श्रीमान् भीमराजको यसअघि नै निधन भइसकेको छ । स्वर्गीय नौलखाको इच्छाअनुसार उहाँको मरणोपरान्त नेत्रदान गरिएको छ । तेरापंथ युवक परिषद्, काठमाडौँको समन्वयमा उहाँको आँखा दान गरिएको परिवारले जनाएको छ । उहाँले जीवित छँदै आफ्नो मृत्युपश्चात् नेत्रदान गर्ने स्वीकृति दिनुभएको थियो । स्वर्गीय इन्दुदेवीको मङ्गलबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गोरखापत्र

