अत्यावश्यक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

Published on

काठमाडौं । नेपाललाई अत्यावश्यक औषधीमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र औषधीमा आत्मनिर्भरता विषयमा नीतिगत सवाल’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं.३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्की अत्यावश्यक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले औषधी महङ्गो भएको कारणले वर्षेनी पाँच लाख जना मानिस गरिबीको रेखामुनि पर्ने गरेको भन्दै प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधी पाउनुपर्ने बताउनुभयो । 

उहाँले अब बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधी उपचार रहेको बताउनुभयो । उहाँले औषधी ऐन संशोधन गरेर नेपाली औषधी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गुणस्तरीय औषधी नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर पनि हेर्नुपर्ने भन्दै नागरिकको सेवालाई सहज बनाउन काम नगर्ने समितिलाई अब खारेज गरिने बताउनुभयो ।  कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा।चुमनलाल दासले औषधी ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधी उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सबै औषधी नेपाली औषधी उद्योगबाट उत्पादन भएका लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।“भरसक हाम्रै औषधी उद्योगबाट उत्पादन भएका औषधी बीमा बोर्डबाट विवरण गरिने व्यवस्था गर्नुपर्ने छ ।” उहाँले भन्नुभयो, “नेपाली औषधीको खपत बढाउने हो भने मुलुकको अर्थतन्त्रमा सुदृढ हुन्छ ।” राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले औषधी परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै औषधीको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दिगो विकास लक्ष्यमा उल्लेख गरेअनुसार औषधी सम्बन्धी नीतिगत व्यवस्था परिवर्तन गरिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरेर गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रवलजंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर औषधी उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्नेमा जोड दिँदै प्राविधिक सीप र वैदेशिक मुद्रामा कारोबार गर्न सहज बनाइदिने हो भने धेरै उपलब्धि हासिल गर्न सकिन्छ उल्लेख गर्नुभयो । नेपाल मेडिकल काउन्सिलका सदस्य डा.दिपेन्द्र पाण्डेले जेनेरिक औषधी उत्पादनका लागि सरकारले उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उत्पादनको प्रक्रिया र गुणस्तर परिक्षण गरेर जान सक्दा राम्रो हुने बताउनुभयो। उहाँले देशको अवस्था सुधार हुँदैगर्दा कच्चापदार्थमा कर छुट दिएर नेपाली औषधी उत्पादक कम्पनीलाई सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । नेपाल औषधी व्यवस्था विभागको प्रमुख औषधी व्यवस्थापक शिवानी खड्गीले राजनीतिक स्थायित्वको अभावले स्वदेशी औषधी उद्योगमैत्री औषधी ऐन बन्न नसकेको बताउँदै नयाँ सरकार बनेसँगै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विभागले स्वदेशी औषधी उद्योगलाई प्रोत्साहन गर्न ध्यान दिएर लागि परेको बताउनुभयो।

 नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको औषधी ऐन नेपालका औषधी व्यवसायीको हितमा नभएको भन्दै आयातमुखी औषधी ऐनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले औषधी ऐन नेपाली औषधीको पक्षमा बन्ने हो भने पाँच बर्षमा मुलुकलाई औषधीमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । उहाँले बंगलादेश र भारत औषधी उत्पादन गर्ने विश्वका ९८ प्रतिशत भन्दाबढि औषधी उत्पादन गर्ने देश भएको बताउँदै नेपाली उद्योगलाई पनि भारत र बंगालादेशका तुलनामा कम मुल्यमा औषधी उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । 

एपोनका पूर्व अध्यक्ष दीपक दाहालले सरकारले नेपाली औषधीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले औषधीको गुणस्तरमा ध्यान दिन, स्वास्थ्य क्षेत्रका नीतिगत समस्या समाधानका लागि सर्वपक्षीय छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...