काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–४ को ओलेना बस्ती कुनै बेला जिल्लाकै कृषि उत्पादनका क्षेत्रमा प्रख्यात ठाउँ थियो । सिरानमा सिँचाइ कुलोको राम्रो व्यवस्था र मुनि समथल खेतीयोग्य जमिन भएकाले यहाँका स्थानीयले राम्रो तरकारी उत्पादन गर्ने गर्थे । ओलेनाका स्थानीयले उत्पादन गरेको तरकारी जिल्लाको मार्तडी बजारका चोकचोकमा बिक्री हुने गर्थ्यो । तरकारी खेतीले नै यहाँका स्थानीयको जीविकोपार्जन हुने गर्थ्यो । २०७६ सालमा बुढीगङ्गा नदीमा आएको बाढीले ओलेनाबासीको सबै जमिन बगरमा परिणत भयो । यहाँका स्थानीयले तरकारी खेती गर्ने सबै जमिन यसरी बगर बनेपछि अहिले उनीहरूलाई खेतीका लागि जमिनको निकै अभाव भएको छ ।
बडीमालिका नगरपालिका–४ ओलेनाका कृषक देवबहादुर नाथले ओलेनामा आफ्नो धेरै जमिन भएको र ती सबैमा तरकारी तथा फलफूल खेती गर्ने गरेको स्मरण गर्नुभयो । अहिले सबै जमिन बगरमा परिणत भएपछि तरकारी खेती गर्नका लागि जमिनको निकै अभाव भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “धान, गहुँ तथा अन्नबालीभन्दा पनि तरकारी खेती लगाउने गर्थें । त्यसैले परिवार पाल्ने गरेको थिएँ । अहिले ती सबै जमिन बगर बनेपछि कसरी बालबच्चा पाल्ने भन्ने निकै चिन्ता लागेको छ ।” साँफे–मार्तडी राजमार्गको मुनि ओलेना बस्ती रहेको र यो बस्तीका किसानले लगाएको तरकारी सबैले हेर्ने गरेका थिए । अहिले नदीले बगर बनाएपछि यसलाई व्यवस्थापन गर्न कसैको नजर पुगेको छैन । यहाँका स्थानीयको खेती लगाउने जमिन बगर बनेको र बस्ने घर पनि बुढीगङ्गा नदीको उच्च जोखिममा परेकाले कता गएर बस्ने भन्ने चिन्ता लागेको नाथले बताउनुभयो ।
पछिल्लो समय ओलेना बस्ती बिस्तारै खाली हुने अवस्थामा छ । पहिला यहाँ १६ भन्दा बढी नाथ परिवारको बसोबास थियो । २०७६ सालमा आएको बाढीले खेती गरी खाने जमिन सबै बगर बनाएपछि अहिले यहाँका केही परिवारको उठीबास भएको छ । उनीहरूमध्ये कोही पाटा र कोही सहर झरेका छन् । कुनै बेला तरकारीको केन्द्र भनेर चिनिँदै आएको ओलेना अहिले हेर्दा निकै उजाड मरुभूमि जस्तै देखिन थालेको छ । अहिले यहाँ झण्डै १३ परिवारको बसोबास छ । यी परिवार पनि नदी कटानको जोखिममा रहेका छन् । उहाँहरूले सरकारसँग घरबासको माग गर्दै आएको भए पनि कतैबाट व्यवस्था हुन सकेको छैन । बडीमालिका–४ ओलेनाका स्थानीय तथा पाथरकोट आका शिक्षक कमल नाथले २०७६ साल साउन–भदौमा बुढीगङ्गा नदीमा आएको बाढीले ओलेनाबासीको तरकारी खेती गर्ने सबै जमिन बगर बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाजुराको सदरमुकाम मार्तडी बजारका पसल–पसलमा राखेर बिक्री हुँदै आएको तरकारी यसै ओलेनाबाट जाने गर्थ्यो । ओलेनाबासीको मुख्य पेसा पनि तरकारी खेती नै थियो ।” अहिले तरकारी तथा फलफूल खेती गर्ने सबै जमिन नदीले बगाइदिएपछि यहाँका स्थानीयलाई जमिनको अभाव हुन थालेको छ । ओलेनाबासीलाई खेती लगाउने जमिन त के घरबासकै समस्या हुने गरेको नाथले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक डोरेन्द्र निरौलाले ओलेनाको तरकारी लगाउने जमिन मात्र नभई पूरै बस्ती नै नदीको जोखिममा परेकाले यसलाई स्थानान्तरण गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै आएको बताउनुभयो । गोरखापत्र

