काठमाडौं । भाँचिएको रुखको हाँगा लागेर उदयपुरको कटारी नगरपालिका–८, थलियाटारकी ४९ वर्षीया मिनामाया तामाङको सोमबार राति मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घर नजिकैको गोठबाट खसी–बाख्रा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीका कारण नजिकै रहेको कटमिरोको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायब उपरीक्षकसहित ७ जनाको टोली खटिएको थियो। गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी, उदयपुर ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यससँगै सोमबार साँझ आएको हावाहुरीका कारण उदयपुरमा दुई जनाको ज्यान गएको छ। यसअघि रुखले घर किच्दा कटारीकै ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको थियो। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोरखापत्र

