काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा निधन भएका गोरखाका तीन शहीद परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। विदेशमा रोजगारीमा रहेका नेपालीहरूले संकलन गरेर पठाएको रकम शहीद परिवारको घरमै पुगेर प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जेनजी आन्दोलनमा शहीद भएका गोरखाका पालुङटार नगरपालिका–३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट र गण्डकी गाउँपालिका–४ का अर्जुन भट्टका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो। तीनै शहीद परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ। उक्त रकम क्रमशः बिमलबाबु भट्टका बुबा रामकृष्ण भट्ट, अनिष पराजुलीकी पत्नी मञ्जु पौडेल र अर्जुन भट्टका बुबा चित्रबहादुर भट्टलाई हस्तान्तरण गरिएको हो।
राहत रकम दक्षिण कोरियामा सक्रिय एमआरआर समूहको संयोजनमा संकलन गरिएको थियो। उक्त रकम गोरखाका पत्रकार तथा प्रेस काउन्सिल नेपालका सदस्य भिमलाल श्रेष्ठमार्फत शहीद परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सहानुभूति र एकताको उदाहरणस्वरूप प्रदान गरिएको यस सहयोगले कठिन अवस्थामा रहेका परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ। यसअघि गोरखाका मृतक परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार उक्त रकममध्ये १० लाख आर्थिक सहायता र ५ लाख काजक्रिया तथा यातायात खर्चका लागि प्रदान गरिएको थियो।

