काठमाडौं । लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ। पछिल्लो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिपछि किसानहरू आधुनिक कृषि उपकरणबाट टाढिँदै परम्परागत प्रणालीतर्फ फर्किन बाध्य देखिएका छन्। महोत्तरीको औरही नगरपालिका–५ श्रीपुरमा अहिले चैतको चर्को घामबिच किसानहरू गोरु जोतेर खेत तयार पारिरहेका दृश्य फेरि सामान्य बन्न थालेका छन्। केही वर्षअघिसम्म ट्याक्टरको आवाजले गुन्जायमान हुने खेतहरू अहिले फेरि हलो र गोरुको भरमा जोतिन थालेका छन्। औरही नगरपालिका–५ का किसान जगदीश यादवका अनुसार इन्धनको मूल्य अत्यधिक बढेपछि ट्याक्टर प्रयोग गर्नु निकै महँगो भएको छ। “ट्याक्टर ल्याउँदा खर्च धेरै हुन्छ, अनि समयमा पनि पाइँदैन,” उहाँ भन्नुहुन्छ, “आफ्नै गोरु हुँदा चाहेको बेला खेत जोत्न पाइन्छ, त्यसैले फेरि पुरानै तरिकातिर फर्किनुपरेको छ।” यादवको चार बिघा जमिनमध्ये दुई बिघामा उखु खेती हुन्छ भने बाँकी जमिन पनि क्रमशः गोरुको सहारामा जोतिँदै आएको छ। ६ सदस्यीय परिवारको जीविकोपार्जन कृषि पेशामै निर्भर छ। वार्षिक करिब १० लाख रुपियाँ आम्दानी हुने गरे पनि बढ्दो लागतका कारण बचत भने न्यून हुने गरेको उहाँ बताउनुहुन्छ। “आम्दानी जति हुन्छ, खर्च पनि उस्तै हुन्छ,” उहाँले गुनासो गर्नुभयो, “मलखाद महँगो छ, बीउ महँगो छ, अब इन्धन पनि महँगो भएपछि किसानलाई बाँच्नै गाह्रो भएको छ।”
स्थानीय अर्का किसान रामउदित महतो पनि यस्तै समस्याबाट गुज्रिरहेका छन्। उहाँका अनुसार ट्याक्टरले खेत जोत्न प्रतिघण्टा हजारौँ रुपैयाँ लाग्ने भएकाले साना किसानका लागि त्यो सम्भव छैन। “पहिले ट्याक्टर सजिलो लाग्थ्यो, तर अहिले त्यसको खर्च धान्न सकिँदैन,” उहाँ भन्नुहुन्छ, “गोरु पाल्न खर्च लागे पनि दीर्घकालमा सस्तो पर्छ।” सिँचाइको अवस्था पनि त्यत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ। डिजेलबाट चल्ने पम्पसेट (दमकल) प्रयोग गर्दा लागत ह्वात्तै बढेको किसानहरूको भनाइ छ। “पानी त चाहिन्छ, तर डिजेलको मूल्यले सिंचाइ गर्नै गाह्रो भएको छ,” गौशाला नगरपालिका ५ का स्थानीय किसान सीता देवी यादव भन्नुहुन्छ, “बाली जोगाउनै सकस पर्छ।” किसानहरूका अनुसार उत्पादन लागत बढ्दै जाँदा नाफा घट्दो छ, जसले गर्दा धेरैजसो किसान खेतीप्रति निराश हुन थालेका छन्। “सरकारले किसानका लागि सहयोगको कुरा त गर्छ, तर व्यवहारमा त्यस्तो महसुस हुँदैन,” सोनमा गाउँपालिका ३ का किसान धर्मेन्द्र यादव भन्नुहुन्छ, “मल समयमा पाइँदैन, सहुलियत छैन, अनि बजारको पनि ग्यारेन्टी छैन।” यता गाउँका अन्य किसानहरू पनि विस्तारै गोरु प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेती प्रणाली श्रमसाध्य भए पनि खर्च कम हुने भएकाले अहिलेको परिस्थितिमा विकल्पका रूपमा देखिएको छ। कृषि विज्ञहरूका अनुसार इन्धन मूल्यवृद्धि, मलखाद अभाव र बजार व्यवस्थापनको कमजोरीजस्ता कारणले किसानहरू दबाबमा परेका छन्। यदि समयमै नीतिगत व्यवस्था नगरिए किसानहरू खेतीबाटै विस्थापित हुने जोखिम बढ्न सक्ने उनीहरूको चिन्ताछ। महोत्तरीका किसानहरूको यो अवस्था केवल एउटा क्षेत्रको समस्या मात्र नभई देशभरकै कृषिक्षेत्रको संकेत भएको सरोकारवालाहरू बताउँछन्। आधुनिकताबाट परम्परातर्फको यो फर्काइले किसानको पीडा मात्र होइन, नीतिगत कमजोरी पनि उजागर गरेको छ। गोरखापत्र

