काठमाडौँ । गण्डकी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी संख्या र परीक्षा केन्द्र दुवै घटेका छन्। चैत १९ गतेदेखि सुरु हुने एसइईमा यस वर्ष प्रदेशभर ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन्। अघिल्लो वर्ष ११ जिल्लाका २०५ परीक्षा केन्द्रबाट ४५ हजार ७९६ विद्यार्थी सहभागी भएका थिए। अघिल्लो वर्ष १ हजार ३७४ विद्यालयका विद्यार्थी सहभागी भएकोमा यस वर्ष विद्यालय संख्या भने बढेर १ हजार ३८८ पुगेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सञ्चालन गर्ने परीक्षा चैत २९ गतेसम्म चल्नेछ। गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा विकास महाशाखाका महानिर्देशक दामोदर सुवेदीका अनुसार यस वर्ष नियमिततर्फ ३५ हजार ४१७, प्राविधिकतर्फ १ हजार १२० र ग्रेडवृद्धितर्फ ६ हजार ८१८ जना परीक्षार्थी छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष २ हजार ४४१ विद्यार्थी कम भएका छन्। प्रदेशभर १८७ परीक्षा केन्द्र तोकिएका छन्, जुन अघिल्लो वर्षभन्दा १८ वटा कम हो। परीक्षामा १८७ केन्द्राध्यक्ष, ३८१ सहायक केन्द्राध्यक्ष, २ हजार २५९ निरीक्षक, ५३२ परीक्षा सहायक र ९६३ कार्यालय सहयोगी परिचालन गरिनेछ।
जिल्लागत रूपमा मनाङबाट सबैभन्दा कम ३४ जना र कास्कीबाट सबैभन्दा बढी १० हजार ८४३ विद्यार्थी सहभागी हुनेछन्। अन्य जिल्लामा गोरखाबाट ३ हजार ७९७, लमजुङबाट २ हजार ८६२, तनहुँबाट ६ हजार १५५, स्याङ्जाबाट ४ हजार २८८, मुस्ताङबाट १८६, म्याग्दीबाट २ हजार २२, बागलुङबाट ४ हजार २३९, पर्वतबाट २ हजार २१७ र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०बाट ६ हजार ७१२ विद्यार्थी सहभागी हुनेछन्। महानिर्देशक सुवेदीका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। प्रश्नपत्र र उत्तरपुस्तिका अधिकांश परीक्षा केन्द्रमा पुगिसकेका छन्। ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई अभिमुखीकरणसमेत दिइसकिएको छ। “चैत १५ गतेदेखि केन्द्राध्यक्ष नियुक्ति र अभिमुखीकरण सुरु हुन्छ,” उहाँले भन्नुभयो, “परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी लगभग पूरा भएको छ।”
कास्कीमा सबैभन्दा बढी विद्यार्थी
यस वर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी विद्यार्थी कास्की जिल्लाबाट सहभागी हुँदै छन्। शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका अनुसार २९७ विद्यालयका १० हजार ८५६ विद्यार्थी ३६ परीक्षा केन्द्रबाट सहभागी हुनेछन्। तीमध्ये ५ हजार ७२२ छात्र र ५ हजार १३३ छात्रा छन्। पोखरा महानगरपालिकामा ३२, अन्नपूर्ण गाउँपालिकामा २ तथा रुपा र माछापुच्छ्रे गाउँपालिकामा १र१ परीक्षा केन्द्र कायम गरिएको छ। यस वर्ष कास्कीमा १२५ सामुदायिक र १६८ संस्थागत गरी २९३ विद्यालयका विद्यार्थी सहभागी छन्। सामुदायिक विद्यालयबाट ४ हजार ४७१ र संस्थागत विद्यालयबाट ६ हजार ३८५ विद्यार्थी सहभागी हुनेछन्। प्राविधिक धारका ६ विद्यालयबाट १८८ जना र संस्कृत धारतर्फ ८ विद्यालयका ७० विद्यार्थी सहभागी हुनेछन्। इकाइ प्रमुख लोकनाथ आचार्यका अनुसार प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय कास्कीमा आइपुगेको छ भने चार केन्द्रबाहेक अन्य सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ। गोरखापत्र

