काठमाडौँ । बाँकेको भूमि सुधार तथा मालपोत कार्यालयले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को स्रेस्ता पुनः कायम गरेको छ। आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा भएको आगजनीले कार्यालय भवन र कागजात नष्ट भएपछि असोज र कात्तिकमा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयमार्फत सेवा सञ्चालन भएको थियो। गत मङ्सिरदेखि चैत ८ गतेसम्म जलेर नष्ट भएका १३ हजार ४०९ जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता कायम गरिएको कार्यालय प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “जेनजीु आन्दोलनका क्रममा भएको आगजनीबाट नष्ट भएका स्रेस्ता पुनः कायम गर्ने काम धमाधम भइरहेको छ। एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा कुनै समस्या नहुनेगरी काम गरिरहेका छौं।” विसं २०७४ पछिका स्रेस्ता डिजिटलाइज्ड भएकाले तिनीहरूको स्रेस्ता कायममा समस्या नभएको भए पनि, त्यसभन्दा पुराना जग्गाधनी प्रमाण पुर्जाको रोक्का यकिन नहुँदा पत्रिकामा सूचना प्रकाशन जस्ता प्रक्रियागत कामले समय लाग्ने चौधरीले जानकारी दिनुभयो।
सेवाग्राहीको सहजताका लागि गत हप्ता मात्रै सेवाग्राही सहायता कक्ष स्थापना गरिएको छ र आवश्यक सहयोग तथा समन्वयको कार्य सुरु गरिएको उहाँले बताउनुभयो। लेखापढी व्यवसायीमार्फत सेवा लिनुमा आर्थिक बोझ हुने भएकाले नागरिक सहायता कक्षमार्फत सेवा लिन कार्यालय प्रमुख चौधरीले आग्रह गर्नुभएको छ। उहाँले मालपोत विभागको अनलाइन प्रणालीमा समस्या नहुँदा अन्य समयमा सेवाग्राहीको काममा ढिलासुस्ती नहुने स्पष्ट पार्नुभयो। गोरखापत्र

