काठमाडौँ । रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीका सिइओ अलेक्ज्यान्डर ड्यूकोभले बिहीबार यहाँ उद्योग तथा व्यापार सम्मेलनमा यो जानकारी दिनुभएको छ । ड्यूकोभले भन्नुभयो, “यस वर्ष हामी हाइड्रोकार्बन, विशेष गरी तेलको उत्पादन बढाउने योजना बनाएका छौँ ।” उहाँले यो कुरा रूसी उद्योगपति तथा उद्यमी सङ्घको कांग्रेसको साइडलाइनमा व्यक्त गर्नुभएका थिए । कम्पनीको हाइड्रोकार्बन उत्पादन, जसमा संयुक्त उद्यममा कम्पनीको हिस्सा पनि समावेश छ, २०२४ मा ५.३ प्रतिशत वृद्धि भई १२६.९ टन तेल समतुल्यमा पुगेको थियो। तर २०२५ को तथ्याङ्क अहिलेसम्म सार्वजनिक भएको छैन ।
ड्यूकोभले रूसले विदेशी बजारमा मूल्य उच्च भएको कारण इन्धनको विदेशी निर्यातलाई रोक्न दुई-तीन महिनाका लागि पूर्ण पेट्रोलियम निर्यात प्रतिबन्ध लगाउनुपर्ने सुझाव पनि दिनुभएको छ । हाल रूसमा केवल गैर-निर्माताका लागि जुलाईसम्म पेट्रोलियम निर्यातमा प्रतिबन्ध छ, तर ठुला तेल कम्पनीलाई निर्यात गर्न अनुमति दिइएको छ । यो कदमले रूसको आन्तरिक इन्धन आपूर्ति सुनिश्चित गर्न र विदेशी बजारमा मूल्य नियन्त्रणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ । गोरखापत्र

