ठेकेदारको लापरबाहीः २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो

Published on

काठमाडौं । तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो। २६ करोड ८२ लाख रुपियाँको लागतमा बन्न लागेको २२० मिटर लामो यो पुल निर्माणमा ढिलाइ भएपछि स्थानीय बासिन्दाले सास्ती भोग्न बाध्य छन्। तनहुँको ऋषिङ–४ मधुवन र नवलपुरको बुलिङटार–४ कोखेटार जोड्ने यस पुलको निर्माणका लागि २०७३ असार २९ गते लुम्बिनी बिल्डर्स–नागार्जुन–स्वच्छन्द जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०७७ वैशाख २८ गतेभित्र सम्पन्न हुनुपर्ने पुल निर्माण पटक–पटक म्याद थप्दा पनि अधुरो रहेको छ। अन्तिम थपिएको म्याद २०८२ चैत ७ गते सकिएको भए पनि भौतिक प्रगति निराशाजनक छ। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, “ठेकेदारले समयमा काम नगर्दा आयोजना अलपत्र परेको छ। बारम्बार ताकेता गरेपछि केही मजदुर परिचालन भएका छन्। आजै पनि पोखरास्थित पुल महाशाखामा पुगेर कामलाई तीव्रता दिन र लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन दबाब दिएका छौँ।”

पुल सेक्टर कार्यालय पोखराका अनुसार जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीले कार्यक्षेत्रमा पर्याप्त ध्यान नदिँदा र समन्वय नगर्दा निर्माणमा ढिलाइ भएको हो। पुल निर्माणका लागि ६ वटा पिल्लर आवश्यक भएपनि हालसम्म ५ वटा मात्र तयार भएका छन् भने एक पिल्लरको काम अझै बाँकी छ। त्यस्तै, एक स्पान ढलान भए पनि दुई स्पानको काम प्रक्रियामै छ। हिउँदमा केही काम गर्ने र वर्षा लागेपछि काम रोक्ने प्रवृत्तिले गर्दा पुल कहिले पूरा हुन्छ भन्ने अझै स्पष्ट छैन। यो पुल निर्माण सम्पन्न भएमा नवलपुरको सदरमुकाम कावासोती र दलदले क्षेत्रबाट तनहुँको भिमाद हुँदै प्रदेश राजधानी पोखरा पुग्ने दूरी करिब १५ किलोमिटर छोटो हुनेछ। नवलपुरलाई प्रदेश राजधानीसँग जोड्ने यो रणनीतिक मार्ग अलपत्र हुँदा यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठुलो धक्का पुगेको छ, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष चिनुमाया थापाले बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...