कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा

Published on

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन, कक्षाकोठा अभाव र शैक्षिक स्रोतसाधनको कमिका बीच सञ्चालन हुँदै आएको छ । विद्यालयका अधिकांश भवन जस्तापाताले बनेका र जीर्ण अवस्थामा रहेकाले वर्षायाममा पानी चुहिने समस्या हुँदा कक्षा सञ्चालनमा कठिनाइको सामाना गर्दै आएको छ । तीन दशक अघि स्थापना भएको यस विद्यालयले हालसम्म १२ वटा ब्याच कक्षा १२ उत्तीर्ण गराई निजामती सेवा, शिक्षण र सुरक्षा निकायजस्ता महत्त्वपूर्ण क्षेत्रमा पठाइसकेको छ । इतिहास बोकेको यो विद्यालय आज आफ्नै भवन र शिक्षक दरबन्दीका लागि सङ्घर्ष गरिरहेको छ ।विद्यालयको सबैभन्दा ठूलो चुनौती नै यसको भौतिक संरचना बनेको छ । विद्यालयमा रहेका १० वटा भवनका २६ कोठामध्ये हाल १८ वटा मात्रै कक्षा सञ्चालनका लागि प्रयोगमा छन् । “अधिकांश भवनका छाना जस्तापाताका छन्, वर्षातको समयमा पानी चुहिएर कक्षाकोठा भित्रै बस्न र पढाउन निकै अप्ठ्यारो हुन्छ,” विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले भन्नुभयो । उहाँका अनुसार टीनको छानोमुक्त पक्की भवन दुई वटा मात्रै रहेका छन् ।

त्यसमा विद्यालयका पूरै विद्यार्थीलाई उचित रूपमा बसाल्नसमेत समस्या छ । पुराना भवन जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा जोखिम बढेको छ । भौतिक पूर्वाधार मात्र नभइ विद्यालयमा माध्यमिक तहमा विद्यार्थीको अनुपातअनुसार ऐच्छिक विषयका शिक्षक दरबन्दी नहुनु अर्को ठूलो चुनौतीका रूपमा रहेको छ । विज्ञान र कम्प्युटर प्रयोगशाला व्यवस्थित नहुँदा र आवश्यक सामग्रीको अभावले गर्दा विद्यार्थीको प्रयोगात्मक सिकाइ प्रभावकारी हुनसकेको छैन ।“हामीले आधुनिक प्रविधिको प्रयोग गर्न सकेका छैनौँ, जसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाकृत हुनसकेको छैन,” प्रधानाध्यापक अवस्थीले थप्नुभयो । विद्यालयको स्वामित्वमा सात बिघाभन्दा बढी जग्गा रहे पनि यसको सुरक्षा पक्ष निकै कमजोर देखिएको छ । विद्यालय परिसर पूर्ण रूपमा घेराबार नहुँदा अवाञ्छित गतिविधि हुने गरेको र विद्यालयका सामग्री सुरक्षित राख्न कठिन भएको विद्यालयले जनाएको छ । अझ दुःखद कुरा त, विद्यालयको दक्षिण र पश्चिम पट्टिको फिल्डबुक कायम जग्गा अतिक्रमणको चपेटामा परेको छ । यस अतिक्रमणलाई रोक्न सरोकारवालाको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै ठोस समाधान हुन नसकेको प्रधानाअध्यापक अवस्थी बताउनुहुन्छ ।

विद्यालयले समयको मागअनुसार अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन र प्राविधिक विषयका लागि निजी स्रोतबाट शिक्षकहरू नियुक्त गरेको छ । केजी कक्षादेखि अंग्रेजी माध्यमका लागि र माध्यमिक तहमा अर्थशास्त्र तथा कम्प्युटर विषयका लागि शिक्षक राखिए पनि उहाँहरूलाई समयमा तलब खुवाउन विद्यालयलाई आर्थिक अभाव रहेको छ ।तीन बिघा जग्गा भाडामा दिएर आउने वार्षिक रु ६५ हजारले यति धेरै खर्च धान्न असम्भव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाह रानाले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा हुने अन्य विभिन्न शैक्षिक कार्यक्रमको लागि समेत आर्थिक अभाव हुने भएकाले नियमित स्रोत व्यवस्थापनका लागि अभिभावकहरूसँग सहयोगको अपेक्षा राखेको छ । हाल यस विद्यालयमा ३४२ विद्यार्थी अध्ययनरत छन् । जसमा छात्रा १९५ र छात्र १४७ रहेका छन् । चुनौतीका बाबजुद विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न प्रयास गरिरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रानाले बताउनुभयो । गत वर्षको कक्षा ८ को परीक्षामा सहभागी ६४ मध्ये ५६ जना उत्तीर्ण भएका थिए भने एसर्इईमा ५४ मध्ये २६ र कक्षा १२ मा ४४ मध्ये ३४ जना सफल भएका थिए । यो विद्यालय यस क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...