काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाबका बिच संयुक्त अरब इमिरेट्स (यूएई) बाट घर विदामा आउनुभएका प्रदिप सुबेदीलाई बर्षा र हिमपातले आइतबार हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिरमा पुग्न निकै सकस भयो । पोखरा बस्ने सुबेदी परिवार र आफन्तसँग मुक्तिनाथ मन्दिरको दर्शनका लागि मन्दिरमा पुग्दा बर्षासँगै आसपासका क्षेत्रमा हिमपात भइरहेको थियो । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ । तिर्थालु सुबेदीले भन्नुभयो, ‘‘दर्शनसँगै हिउँमा खेल्ने अवसर मिल्यो, चैत महिनामा हिउँ परेपछि स्थानीय समेत खुसी छन् ।’’

यस बर्ष मुक्तिनाथ मन्दिर क्षेत्रमा यो पाँचौ पटक हिमपात भएको हो । हिमपातका कारण विहानको समयमा मन्दिरको पदमार्गस्थल, मन्दिर परिसर तथा आसपास क्षेत्रमा पैदल यात्रामा समस्या भए पनि मौसममा केही सुधार भएपछि अहिले सहज भएको मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुषालले बताउनुभयो । हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका तिर्थालु र पर्यटक सहज आवत–जावत गरिरहेको वारागुङ मुक्तिक्षेत्र –१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । हिमपात र बर्षा भएकाले केही असहज भए पनि अवस्था सामान्य रहेको उहाँको भनाइ छ । वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अहिले मन्दिर क्षेत्रमा तिर्थालु जानेक्रम बढेको छ, मन्दिर आसपास क्षेत्रमा पहिलाको जमेको हिउँ नपग्लिदै हिमपात भएपछि केही दिन हेर्न पाइन्छ ।’’

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने थासाङ, घरपझोङर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बर्षासहित सामान्य हिमपात हुँदा विहानको समयमा जनजीवन कष्टकर बनेको छ । यसैबिच लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिका जोड्ने कागबेनी–लोमान्थाङ हुँदै कोरला सडकमा हिउँ परे पनि नियमित सञ्चालन भइरहेको छ । गोरखापत्र

