काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –३ शितलपाटीमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एटिएम तोडफोड गरी फरार रहेका बगनासकाली गाउँपालिका– ६ गुँगाका २४ वर्षीय विजय सुनारलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार एटिएममा भएको नगद रकम चोरी गर्ने उद्देश्यले एटिएम भित्र जडान गरिएको सिसिटिभी क्यामरा तोडफोड गरिरहेको अवस्थामा सोही बैंकका सुरक्षा गार्डले देखेपछि नियन्त्रणमा लिन खोज्दा सुनार भागेका थिए ।
फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक सहितको टोली खटिगई सिसिटीभी क्यामरामा कैद भएको फोटो र भिडियो हेरि सुक्ष्म अनुसन्धान तथा विश्लेषणको आधारमा निज व्यक्तिको खोजतलास गर्ने क्रममा होलाङ्दीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुुभयो । गोरखापत्र

