आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

Published on

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्। आश्विन सङ्क्रान्तिका दिन हरेक वर्ष मनाइने विश्वकर्मा पूजाका अवसरमा सवारीसाधन, कलकारखाना तथा उद्योगमा प्रयोग हुने धातुजन्य उपकरण, मेसिनरी तथा औजारको पूजाआजा गर्ने परम्परा छ। विश्वकर्मालाई निर्माण तथा शिल्पकलाका देवताका रूपमा स्मरण गर्दै कालिगड, मिस्त्री, प्राविधिक तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्ने श्रमिकले आफ्ना औजार र उपकरणको पूजा गर्ने गर्छन्। यस दिन विशेषगरी फलाम तथा अन्य धातुबाट बनेका मेसिन, औजार र उपकरण सफा गरी सजाउने तथा विधिपूर्वक पूजा गर्ने चलन रहेको छ। कतिपय स्थानमा उद्योग, कारखाना, वर्कसप तथा ग्यारेजमा सामूहिक रूपमा विश्वकर्माको प्रतिमा स्थापना गरी पूजाआजा गर्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान् विश्वकर्मालाई स्मरण गर्दै औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको पूजा गर्नाले कामका क्रममा चोटपटक नलाग्ने र दुर्घटनाबाट जोगिन सकिने विश्वास रहिआएको छ। त्यसैले विश्वकर्मा पूजालाई श्रम, सीप, प्रविधि तथा निर्माण कार्यसँग जोडिएको धार्मिक पर्वका रूपमा पनि लिइन्छ। विश्वकर्मा पूजासँग विभिन्न धार्मिक किंवदन्तीसमेत जोडिएका छन्। द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा भगवान् विश्वकर्माले समुद्रको बीचमा द्वार निर्माण गरी संरक्षण गरेको धार्मिक विश्वास छ। यही घटनासँग जोडेर विश्वकर्माको स्मरणमा औजार तथा निर्माण सामग्रीको पूजा गर्ने परम्परा सुरु भएको किंवदन्तीमा उल्लेख गरिएको पाइन्छ।

विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक तथा शक्तिपीठमा समेत सवारीसाधनको पूजाआजा गर्ने गरिन्छ। विशेषगरी काठमाडौँको भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मीलगायतका मन्दिरमा सवारीसाधन पूजा गर्न आउने भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन उद्योग–कलकारखाना, वर्कसप तथा विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्ना कार्यस्थलमा प्रयोग हुने मेसिन तथा उपकरणको पूजा गरी विश्वकर्माप्रति श्रद्धा व्यक्त गर्ने गर्छन्। विश्वकर्मा पूजाले काममा प्रयोग हुने साधन, सीप र प्रविधिप्रति सम्मान गर्ने परम्परालाई समेत निरन्तरता दिँदै आएको छ।

spot_img

ताजा समाचार

उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने

काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद्...

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...