बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

Published on

काठमाडौँ – संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं शिक्षालय ललितपुरले साइकल र्‍याली आयोजना गरेको छ।

‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ भन्ने नारासहित आयोजित र्‍यालीको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए। र्‍यालीमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी र स्थानीयको सहभागिता रहेको थियो। आयोजकका अनुसार र्‍यालीमा ३०० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए।

र्‍याली व्यवस्थापनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा नेपाल स्काउटले सहयोग गरेका थिए। र्‍यालीको विभिन्न स्थानमा विद्यार्थी तथा विभिन्न संघसंस्थाका १५० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको विद्यालयले जनाएको छ।

उद्घाटन कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता महत्वपूर्ण रहेको बताए। साइकल र्‍यालीले युवापुस्तालाई शारीरिक तथा मानसिक रूपमा सक्रिय बनाउनुका साथै सामाजिक जिम्मेवारी र वातावरणप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई खेलकुद गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र वातावरण संरक्षणसँग जोडेर अभियानका रूपमा अघि बढाउने उद्देश्यले र्‍याली आयोजना गरिएको बताए। र्‍यालीको दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने उनले जानकारी दिए।

विद्यालयले यसअघि भोटेकोशी बाढी प्रभावितका लागि ललितपुर प्याब्सनमार्फत ५१ हजार रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। पाण्डेले जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, हिमाली क्षेत्रमा वातावरणीय परिवर्तनलगायतका जोखिम बढिरहेको भन्दै विद्यालय तहबाटै वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए।

उनका अनुसार काठमाडौं शिक्षालय ललितपुरले आगामी वर्षदेखि पनि प्रत्येक संविधान दिवसका दिन साइकल र्‍याली आयोजना गर्ने योजना बनाएको छ। संविधान दिवसलाई औपचारिक कार्यक्रमभन्दा स्वास्थ्य, वातावरण, सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडेर विद्यार्थी तथा समुदायमा सकारात्मक संस्कार विकास गर्ने उद्देश्यले र्‍यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने विद्यालयले जनाएको छ।

र्‍याली काठमाडौं शिक्षालय ललितपुर, इमाडोलबाट सुरु भई कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टिकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शंखदेवी मन्दिर पुगेको थियो। त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनः विद्यालय परिसरमा फर्किएर र्‍याली समापन गरिएको थियो।

र्‍याली दुई विधामा आयोजना गरिएको थियो। सहभागीहरूले २० र २५ किलोमिटर दूरी तय गर्दै महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्र समेटेका थिए। कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा नम्बर १ का अध्यक्ष छिरिङ लामा, वडा नम्बर ४ का अध्यक्ष अमृत केसी, शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेललगायत जनप्रतिनिधि, वडा सदस्य तथा व्यावसायिक साइक्लिङ खेलाडीहरूको उपस्थिति थियो।

विद्यालयकी प्रधानाध्यापक प्रेमलता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्। र्‍यालीमा सहभागी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक सेवामा आफ्नो सहभागिता प्रस्तुत गरेका थिए। विद्यालयले सहभागीहरूलाई टी–सर्ट, पदक तथा सहभागिताको प्रमाणपत्र प्रदान गरेको थियो।

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...