काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि दिउँसो १२ बजेपछि सडक खुलाइएको हो । सडक सञ्चालनमा आएसँगै नारायणगढ हुँदै पोखरा जाने तथा पोखराबाट नारायणगढतर्फ आउने सवारीसाधन चल्न थालेका छन् ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार वर्षाका कारण नाम्सीखोला पुलमा लेदो र पहिरो थुप्रिएपछि केही समय सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर सडक सफा गरेपछि यातायात पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । वर्षा जारी रहेकाले सडकमा थप पहिरो खस्न सक्ने जोखिम भने कायमै रहेको छ ।
यसैबीच पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्डमा वर्षाका कारण विभिन्न ११ स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले उक्त खण्डमा यातायात सञ्चालनमा समस्या भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार शीतलबजार तथा बेनीघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि केही स्थानमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
कृष्णभीरमाथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ भने ज्यामिरेघाटको चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि यातायात रोकिएको छ । फिस्लिङ, चुम्लिङटार र धारापानीका केही स्थानमा सडकको भागसमेत भत्किएको जनाइएको छ । सडकमा खसेको पहिरो तथा भत्किएको भाग हटाउने र यातायात सहज बनाउने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले र चौकीडाँडालगायतका स्थानमा पहिरो खस्नुका साथै सडकका डाइभर्सनसमेत बगाएकाले उक्त सडक आज सञ्चालनमा ल्याउन नसकिएको सडक विभागले जनाएको छ । वर्षा नरोकिएसम्म सडक मर्मत तथा पहिरो पन्छाउने काममा थप चुनौती देखिएको विभागको भनाइ छ ।
कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्ड तथा बेँसीसहर–चामे सडकखण्डमा पनि यातायात अवरुद्ध रहेको छ । ती सडकमा पहिरो हटाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैया, मध्यपहाडी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोरसहित अन्य केही सडकखण्डमा भने एकतर्फी वा आंशिक रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् । लगातारको वर्षाका कारण पहिरो तथा सडक भासिने जोखिम कायमै रहेकाले सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुलाई आग्रह गरिएको छ ।

